महिला हिंसाविरुद्ध विद्यार्थीले गरे खबरदारी प्रदर्शन

माघ २४, नवलपरासी-पछिल्लो समय नवलपरासीमा भएको महिला हिंसा र विद्यालयका छात्राहरुमाथि भएको यौन हिंसाविरुद्ध नवलपरासीको कावासोतीमा रहेको मध्यबिन्दु कलेजका विद्यार्थीहरुले शुक्रबार कावासोतीमा प्रदर्शन गरेका छन् । उनीहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, छात्रा तथा किशोरीहरुमाथि हुने यौन हिंसाका दोषीलाई कारबाही गरिनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले शुक्रबार कावासोतीमा रहेको इलाका प्रहरी कार्यालय नवलपुरअगाडि र कावासोती फलफूलचोकअगाडि एकघण्टा सडक अवरुद्धसमेत पारेका थिए । नवलपरासीमा पछिल्लो दुई महिनाको अन्तरालमा चारजना महिलाको हत्या भएको छ भने तीनवटा विद्यालयमा छात्राहरुमाथि यौन हिंसा भएको घटना सार्वजनिक भएको छ ।

एमाले निकट अनेरास्ववियुको नेतृत्वमा कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले कावासोतीमा सुरक्षाको प्रत्याभूति हुन नसकेको र दोषी पत्ता लगाउन नसकेको भन्दै इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीविरुद्ध नारावाजी गरेका थिए ।