संविधानसभा छाडेर सडकमा आउन वैद्यको आग्रह

माघ २२,काठमाडौं -विगत देखिनै संविधानसभाको विघटनको एकोहोरो रटान रट्दै आएको बैद्य माओवादीले फेरी सोही कुरा दोहोर्याएको छ । उसले बिहिबार पनि संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभाको आयोजना गर्न दबाब दिने उद्देश्यले देशव्यापी अभियान सन्चालन गर्ने भएको छ ।

राजधानीमा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले यथास्थितिमा संविधानसभाबाट संविधान जारी हुन नसक्ने ठहर गर्दै फाल्गुन १ गतेदेखि चैत्र २४ सम्म देशव्यापी रुपमा अभियान सन्चालन गर्ने निर्णय गरेको हो । अभियानबारे जानकारी दिन आज राजधानीमा भएको पत्रकार सम्मेलनमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सत्तारुढ दलहरुले संविधानसभाभित्र र बाहिर रहेका दलहरुलाई उपेक्षा गर्दै अघि बढेको भन्दै अब सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।

उनले एमाओवादीलगायतका शक्तिहरुलाई संविधानसभाबाट अलग भएर सडकमा आउन आग्रह गर्दै यस्तो अवस्थामा आफूहरुले समेत उनीहरुलाई साथ दिन सक्ने बताए ।