बालुवाटारमा नै मर्न चाहान्थे : प्रचण्ड

माघ २१, काठमाडौँ – अप्ठ्यारो अवस्थामा भावुक देखिने एमाओवादीका अध्यक्ष प्रचण्डले बुधबार पनि भावुक शैलीमा नै आफु प्रधानमन्त्री रहेको बेला बालुवाटारमै मर्न तयार भएको रहस्य चुहाए । संविधानसभामा संविधान निर्माणका लागि शुरु भएको बहुमतीय प्रक्रिया रोक्ने उद्देश्यले एमाओवादीले शुरु गरेको आन्दोलनको तयारीका लागि मध्य कमाण्डको मोर्चामा प्रशिक्षण दिँदै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

प्रचण्डले कुटवाल काण्डको प्रसंग कोट्याउँदै अधिकारविहिन राष्ट्रपतिले आफूले बर्खास्त गरेको सेनापतिलाई थमौति दिएपछि बालुवाटारमै मर्न तयार भएर बसेको बताए । सेनापतिलाई बर्खास्त गर्ने मान्छे कोही छ नेपालको इतिहासमा ? कटुवाललाई बर्खास्त गरेपछि मर्ने निश्चित लाग्यो अनि एकछिन त लडेर मर्नु पर्ने भो भनेर जनमुक्ति सेनालाई छ दिन बालुवाटारमा राखेँ। प्रचण्डले आफू म बरु जनतामा जान तयार रहेको तर राष्ट्रपति भएर जेल जान तयार नभएको पनि बताएका छन् ।