पर्वतमा ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

माघ १८,पर्वत- पर्वतको  पैयुँ गाविसबाट शालिग्राम जाँदै गरेको ट्रयाक्टर स्याङ्जाको पिँडीखोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा मजदुरी काम गर्ने मनहरि–९ मकवानपुरका किरण गोले र थाँक्रे–८ धादिङका पेले बाँस्कोटा रहेको प्रहरी चौकी सेतीबेनीका प्रहरी सहायक निरीक्षक ईश्वर रोकाले जानकारी दिए । दुर्घटनामा तीन गम्भीर घाइते भएका छन् । नवनिर्मित कालीगण्डकी लोकमार्ग निर्माणका लागि बाटो खन्दै गरेको डोजरका लागि डिजेल बोकेर जाँदै शालिग्रामबाट जाँदै गरेको लु२च ९३७६ नंको ट्रयाक्टर पिँडीखोला–८ कोलाङ भन्ने ठाउँमा सडकबाट पल्टिएको हो । दुर्घटनामा सहरीखेत–९ मकवानपुरका सन्तोष पर्जा, धादिङ थाक्रे गाविस–८ का भोटे पन्थे र थाँक्रे–९ का बुद्ध तामाङ गम्भीर घाइते भई पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।