विपक्षीको बहिस्कारबीच प्रस्ताव निर्माण समितिको बैठक, उपसमिति गठन

माघ १७,काठमाडौं- विपक्षीमोर्चाको बहिस्कार बाबजुत बसेको प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठकले कार्यविधि तयार गर्न उपसमिति गठन गरेको छ । समितिको आज बसेको पहलिो बैठकले कार्यविधि तयार गर्न कांग्रेस सभासद रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई भोली दिउसो १ बजे बस्ने समितिको बैठकमा कार्यविधि तयार गरी पेश गर्न जिम्मेवारी दिइएको छ । उपसमितिमा सभासदहरु किरण यादव, भानुभक्त ढकाल र श्रीमाया थकाली, दीपक बोहोरा, दिलनाथ गिरी र अतर कमाल मुसलमान रहनु भएको छ ।
बैठकले विपक्षीदलरुहलाई संविधानसभाबाटै विवादित विषयको समाधान खोज्न सकिने भन्दै समितिमा रहने सदस्यहरुको नाम पठाउन समेत अनुरोध गरेको छ । माघ ८ मा संविधान नबन्नुमा एकार्कालाई दोषारोपण गर्दै विवादमा उत्रेका सत्तारुढ गठबन्धन र विपक्षी मोर्चाबीच पछिल्ला दिनमा संवादहीनताको स्थिति रहेकैबेला आज प्रस्ताव निर्माण समितिको बैठक बसेको हो । बैठकपछि बोल्दै काँग्रेस सभासद पूर्ण बहादुर खड्काले संविधानसभामा र यस अन्तर्गतका समितिहरुमा छलफल गरी सहमतिमा पुग्न सकिने भएकोले विपक्षी दललाई समितिमा सदस्य सिफारिस गर्न आग्रह गरिएको बताउनुभयो ।
सत्तारुढ दल र विपक्षीवीच संविधानसभामा प्रश्नावली समिति बनाउने बारेमा विवाद भई संविधानसभामा अवरोध जारी रहेपछि यही माघ ११ गते संीवधानसभा अध्यक्ष स्वयंले समिति घोषणा गर्नुभएको थियो । संीवधानसभाको कार्यव्यवस्था परामर्श समतिमा सत्तरुढ दलहरुका प्रमुख सचेतकहरु प्रश्ताबक र समर्थक रहने निर्णय भएपनि सभाध्यक्ष स्वयंले समिति घोषणा गरेकोलाई विपक्षी दलहरुले भने खेलमा रेफ्रीले नै गोल प्रहार गरेको जस्तो भन्दै समिति अस्वीकार गर्ने बताउदै आएका छन् ।
समिति गठनलाई विपक्षी दलले अस्वीकार गर्ने भएपछि ७३ सदस्यीय समितिमा सत्तारुढ दलका ४९ जना मात्रै सदस्य रहेका छन् । समितिको पहिलो बैठक विपक्षी दलहरुको सहभागी बिना नै बस्ने र समितिलेआफ्नो काम शुरु गर्ने निर्णय सत्तारुढ दलहरुको निर्णय छ । सत्तारुढ दलहरुको हिजो बालुवाटारमा बसको बैठकले एमाओवादी नेतृत्वको विपक्षी मोर्चा नआएपनि प्रश्नावली समितिले आफ्नो काम शुरु गर्ने निर्णय गरेकोहो ।
समिति गठनबाट रुष्ट बनेका विपक्षी दलहरुले समिति गठन निर्णय फिर्ता नभएसम्म वार्तामा नबस्ने अडान राखेका छन् भने समिति गठन निर्णय फिर्ता हुनै नसक्ने सत्तारुढ दलको निश्कर्ष छ ।
यता सत्ता साझेदार दलहरु नेपाली काग्रेस र एमालेले विपक्षीहरु सहभागी नभएपनि पक्रियाबाट संविधान लेखनको कामलाई तीब्रता दिने संकेत दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दुई दलका नेताहरुको बैठकमा प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको बैठक र त्यसको पक्रियाबारे छलफल भएको थियो । बैठकमा काग्रेस एमालेले गठन गरेको कार्यदलका सदस्यहरुले प्रस्ताव समितिले गर्ने काम र त्यसको तयारीबारे जानकारी गराएका थिए । बैठकमा संविधान लेखनका लागि प्रक्रियाअघि बढाउने र प्रस्ताव समितिको कार्यविधिलगायतका विषयमा छलफल भएको एमाले उपाध्यक्ष विद्या भण्डारीले जानकारी दिनुभयो ।