नेपाल आयल निगमद्वारा आज पनि काठमाडौको बिभिन्न क्षेत्रमा ग्याँस वितरण गर्दै

माघ १७,काठमाडौँ -खाना पकाउने ग्याँसको अभाव हटाउन काठमाडौमा क्षेत्रगत रुपमा ग्याँस वितरण शुरु गरेको नेपाल आयल निगमले आज पुरानो वानेश्वर, सिनामंगल, गोशाला, चाबहिल, बौद्ध चुच्चेपाटी, कपन, साँखु सुन्दरीजल नयाँ बस्ती लगायतका स्थानमा ग्याँस वितरण गर्ने भएको छ । आज विक्रिहुने क्षेत्रमा आ आफ्नो विक्रेतालाई ग्यास वितरण गरी सर्वसुलभ रुपमा उपलब्ध गराउन निगमले सबै ग्यास उद्योगहरुलाई अनुरोध गरेको छ । तोकिएको क्षेत्रका विक्रेतालाई ग्यास नदिने उद्योगलाई कारबाही गरिने निमगले जनाएको छ । निगमले सर्वसाधारणलाई तोकिएको प्रतिसिलिण्डर एकहजार ४ सय ७० रुपैयाँ मात्र तिर्न ग्याँस नपाए ०१४१००००७ मा टेलिफोन गर्न समेत आग्रह गरेको छ ।

यसअघि निगमले क्षेत्रगतरुपमा वितरण गर्ने क्रममा बानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर र बबरमहल क्षेत्रमा ग्याँस वितरण गरेको थियो । क्षेत्रगत रुपमा ग्यास वितरण गर्ने भनिएपनि सर्वसाधारण घण्टौ लाइन बस्दा समेत ग्यास पाउन भने नसकिएको गुनासो अझै घटेको छैन । निगमले यही माघ २७ गतेसम्म एक दिन विराएर काठमाडौं, ललितपुर र भक्तपुरमा क्षेत्रगत रुपमा ग्याँस वितरण गर्ने भएको हो ।