प्रधानमन्त्री अचानक प्रचण्ड निवासमा,संविधान निर्माणको बारेमा छलफल

माघ १६,काठमाडौँ–प्रधानमन्त्री सुशील कोइराला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन उहाँकै निवास पुग्नुभएको छ । शुक्रबार बिहान सहिद सप्ताहको कार्यक्रममा लैनचौर जानुभएका प्रधानमन्त्री कोइराला त्यहाँबाट बालुवाटार फर्किने क्रममा बाटोमा पर्ने प्रचण्डको निवास लाजिम्पाट पस्नुभएको हो ।

झण्डै २५ मिनेट भएको भेटमा उहाँहरुबीच संविधान निर्माणको बारेमा छलफल भएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री कोइरालाले वार्तामा बसेर समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
जवाफमा प्रचण्डले सहमतिबाटै संविधान जारी हुने विश्वास दिलाएपछि मात्र वार्तामा बस्ने बताउनुभयो । उहाँले बहुमतीयको तरबार झुन्डाएर सहमति हुन नसक्ने टिप्पणी पनि गर्नुभयोे ।
सत्तापक्षले पक्रियामा संविधान जारी गर्ने निर्णय नसच्याएसमम कुनै प्रकारको छलफलमा नबस्ने प्रचण्डले बताउँदै आउनुभएको थियो । तर प्रधानमन्त्री कोइराला अचानक निवास आइपुगेपछि उहाँ छलफल गर्न बाध्य हुनुभएको हो । प्रचण्ड पार्टी नेताहरुसँग छलफल गरेर बसिरहेको बेला प्रधानमन्त्री कोइराला त्यहाँ पुग्नुभएको थियो ।
यसअघि प्रधानमन्त्री र प्रचण्डबीच टेलिफोनमा वार्ता भएको थियो । टेलिफोन वार्ताबाट कुनै प्रगति नभएपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उहाँकै निवास पुग्नुभएको हो । प्रधानमन्त्री कसैलाई भेट्नुपर्यो भने आफ्नै निवास बालुवाटार बोलाउनुहुन्थ्यो ।
गएको आइतबारको बैठकमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ आफैंले प्रश्नावली समिति गठनको प्रस्ताव पेस गरेपछि सत्तापक्ष र विपक्षीबीच दुरी चुलिएका बेला प्रधानमन्त्री र प्रचण्डबीच शुक्रबार छलफल भएको हो ।
कांग्रेस र एमाले लगायतका सत्तापक्ष दलहरुले एमाओवादी लगायतका विपक्षी दललाई फकाउने जिम्मा प्रधानमन्त्रीलाई दिएका छन् ।