डिभिजन २ मा नेपालले आयोजक नामिबियालाइ ३ विकेट ले पराजित

माघ ७,काठमाडौं – आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गतको खेलमा नेपाल विजयी भएको छ । प्रतियोगितामा लगातार तेश्रो खेल जित्ने क्रममा नेपालले घरेलु टोली नामिबियालाई ३ विकेटले हरायो ।

यो जितसँगै डिभिजन वानमा बढुवा हुने र इन्टरकन्टिनेन्टल कप पनि खेल्न पाउने नेपालको संभावना बलियो भएको छ । यो जितपछि नेपाल र नामिबियाको समान ४ खेलबाट ६ अंक छ । तर नेपाल रनरेटका आधारमा दोश्रो स्थानमा छ ।

नामिबियाविरुद्ध जितका लागि पाएको १ सय ४३ रनको लक्ष्य नेपालले ३७ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन कप्तान पारस खड्काले ६४ रन बनाए । ५६ बल खेलेका खड्काले ६ चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । यस्तै ज्ञानेन्द्र मल्लले ३१ रन बनाए । ओपनर सागर पुन ७ र सुबास खकुरेल ४ रनमा आउट भएका थिए । सरद भेषावकरले पनि ७ रन बनाए ।
यसअघि टस हारेपछि पहिलो ब्याटिङ गरेको नामिबियालाई नेपालले खेल सकिन ५ बल अघि नै १ सय ४२ रनमा अलआउट गर्‍यो । नामिबियालाई सस्तैमा सिमित गर्न नेपालका करन केसीले ३ विकेट लिए । ६ दशमलव १ ओभर बलिङ गरेका उनले १२ रन दिए ।
यस्तै सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २ विकेट लिए । शक्तिले १० ओभरमा २२ तथा बसन्तले ८ ओभरमा २३ रन दिए । कप्तान पारस खड्काले कुनै विकेट लिन नसकेपछि १० ओभरमा मात्र १९ रन दिए । नेपालले अब शुक्रबार केन्यासँग खेल्ने छ ।