‘इजरेली हवाई आक्रमण’मा ६ जनाको मृत्यु

माघ ५,काठमाडौं- सिरियाको गोलान हाइट्स क्षेत्रमा ‘इजरेलले गरेको हवाई आक्रमण’मा परी ‘हिज्बोल्लाह’का ६ जना सदस्य मारिएका छन् ।

मारिनेमा ‘हिज्बोल्लाह’का स्वर्गीय सैन्य नेताका छोरा एवं वर्तमान कमान्डर र एक इरानी नागरिक पनि रहेको बताइएको छ । ‘हिज्बोल्लाह’ टेलिभिजन ‘अल मनार’का अनुसार कुनित्रा प्रान्तमा एक स्थलगत मिसनका क्रममा उक्त आक्रमण भएको थियो ।

इजरेलले भने यस विषयमा तत्काल केही नबोल्ने बताएको छ । यद्यपि, पहिचान खुलाउन नचाहने स्रोतले भने उक्त आक्रमण इजरेली हेलिकोप्टरले गरेको पुष्टि गरेको छ ।

‘हिज्बोल्लाह’ अधिकारीहरुले सन् २००८ मा मारिएका उच्च सैनिक कमान्डरका छोरा जिहाद माघनियेह र मोहम्मद इसा मारिएको बताएका छन् । (एजेन्सी)