संवाद समितिको प्रतिवेदनमाथिको छलफल आजै सक्ने तयारी

माघ ४, काठमाडौं-संवाद समितिको प्रतिवेदनमाथिको छलफल आजै सक्ने तयारीका साथ संविधानसभाको बैठक बसिरहेको छ । संविधानसभाको बैठक लम्ब्याउने रणनितिमा बिपक्षी दलका सबै सभासदहरुले प्रतिबेदनमाथिको छलफलका लागि नाम टिपाएपछि सभाध्यक्ष सुवास नेम्वाङले बिहानै देखि बैठक डाकेका हुन् । सत्तारुढ दलले भने संविधानसभाको बैठक छिटो सकेर आफुहरुको ९ बुदे प्रस्ताव मस्यौदा समितिमा पठाउन माग गरेका छन् । अस्ती शुक्रबार ४० जना सभासद् र हिजो अबेरसम्म चलेको बैठकमा ४५ जनाले धारणा राखेका छन् ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलमा लगातार तीन दिनदेखि छलफलमा रहेका प्रमुख दलहरुको बैठक आज पनि बसीरहेको छ । बैठकमा प्रक्रियामा जाने सहमति खोज्ने प्रयास भैरहेको छ । सत्ता पक्ष कांग्रेस एमालेले प्रक्रियाबाट संविधानका विवाद मिलाउनुपर्ने बताए पनि एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाले त्यसको विरोध गर्दै आएका छन् । एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई सहमतिमा ल्याउने प्रयासमा नेम्वाङले केही दिनयता छलफल गर्दै आउनु भएको छ । संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथि छलफल चलिरहेका बेला संविधानसभाबाटै प्रश्नावली समिति बनाएर प्रक्रिया अगाडि बढाउनका लागि सभाध्यक्ष सुवास नेम्वाङले छलफल गर्नुभएको हो ।