माघ ८ मा संविधान सम्भव नभएको भन्दै नयाँ मिति तय गर्ने सैद्धान्तिक सहमति

पुष २८, काठमाडौं-शीर्ष दलहरुबीच निर्धारित समयमा  संविधान जारी गर्ने सम्भव नभएको भन्दै नयाँ मिति तय गर्ने सैद्धान्तिक सहमति भएको छ । भट्टराईको पहलमा आज बिहानदेखि मुख्य दलका शीर्ष नेताहरुसँग सिंहदरबारमा सम्पन्न छलफलमा यस्तो सहमति भएको स्रोतले जनाएको छ । संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले बोलाएको बैठकमा उपस्थित भएका प्रमुख दलका नेताहरुबीच संविधान जारी गर्ने मिति सार्ने सैद्धान्तिक सहमति भएको हो । यद्यपी यस विषयमा औपचारिक निर्णय हुन भने बाँकि छ । बैठकमा राप्रपाका नेता सूर्य वहादुर थापाले माघ ८ को मिति सार्ने प्रस्ताव प्रस्ताव गरेका थिए । उक्त प्रस्तावप्रति कांग्रेस एमालेका नेता सहमत छन् । कतिदिन सार्ने र अर्को मिति कहिलेलाई तोक्ने भन्ने विषयमा २ पक्षीय र बहुपक्षीय बैठकपछि मात्र निर्णय हुने जानकारी नेताहरुले दिए । वैठकमा संविधानसभाले फिर्ता गरेको प्रतिवेदन, एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले राखेको नौबुँदे प्रस्ताव, माघ ८ को समयसिमाबारे छलफल भइरहेको छ। सभापति भट्टराईले नेताहरुसँग सामूहिक र अलगअलग रुपमा पनि परामर्श तथा वार्ता गरेर सहमति जुटाउने प्रयास गरिरहेका छन् ।