आजबाट ग्यास सहज हुने

पुस २४, काठमाडौँ – नेपाल आयल निगमले आजबाट खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने जनाएको छ । ग्यास आयातको परिमाणमा केही कमी आएकाले बजारमा अभाव देखिएको स्पष्ट पार्दै निगमले भारतबाट अहिले आयात सहज भइसकेको जानकारी दिएको हो । गत आवको डिसेम्बरमा १९ हजार ७७५ मेट्रिक टन ग्यास आयात भएकामा चालु आवको सोही अवधिमा १८ हजार ८८६ टनमात्र आयात भएकाले बजारमा केही समस्या देखिएको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामान्यता बजारमा एक महिनाका लागि २२ हजार ३७७ टन ग्यास आवश्यकता हुन्छ । भारतीय आयल निगमसँग पर्याप्त मात्रामा ग्यासको माग गरिएकाले त्यसले बजारमा सहजता ल्याउने निर्देशक भट्टको भनाइ थियो । निगमले गत महिनाको तुलनामा यस महिनामा पेट्रोल र डिजेलको आयातमा पनि वृद्धि गरेको छ । बजारमा असहज देखिएपछि गत महिना २२ हजार ९४१ टन किलोलिटर पेट्रोल आयात गरिएको थियो भने यस महिनामा २५ हजार किलोलिटर आयात गर्न लागिएको छ । गत महिनामा ८० हजार ६८० किलोलिटर डिजेल आयात गरिएकामा यस महिना ९२ हजार किलोलिटर आयात गर्न लागिएको छ ।

त्यसैगरी, निगमले पेट्रोलियम पदार्थको मौज्दातलाई वृद्धि गरी गर्ने तयारीसमेत गरेको छ । दैनिक भारतको रक्सौलबाट मात्र आयात गर्दा बजारको मागलाई धान्न नसकिएकाले बरौनीबाट दैनिक थप १५ ट्याङ्कर थप गरी तीन लाख लिटर ल्याउन लागिएको छ । त्यसैगरी बेतालपुरमा थप २० वटा ट्याङकर थप गरी चार लाख लिटर आयात गरिएको छ ।