पटक पटक नाम बोलाउँदा पनि सभासद नआएपछि

पुस २४, काठमाडौँ – संविधानसभाको ठुलो भवन भित्र संविधान लेख्ने काम मात्र हुँदैन, त्यहाँभित्र रोचक र विचित्रका तस्बिरहरु पनि देखिन्छन् । कहिले सभासद दिउसै निदाएका तस्बिर आउँछन् त कहिले उनीहरुका आस्यास्पद खबरहरु मिडियामा छाउँछन् । बिहिबार पनि त्यस्तै भयो । संविधानका विवादित विषय सम्वाद समितिमा पठाउने प्रक्रियाका बारेमा संविधानसभामा छलफल जारी रहँदा १२ जना सभासद् अनुपस्थित रहे।

सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उनीहरुको नाम बोलाइरहेका थिए तर नाम बोलाइएका सभासद् भने संविधानसभामा थिएनन्। लगातार ११ जना सभासद्को नाम बोलाउँदा पनि कोही उपस्थित नभएपछि हलमा हाँसो गुन्जिएको थियो। बैठकमा आफ्नो धारणा राख्न नाम टिपाएका सभासद् गायब थिए भने कतिपय सभासद् संविधानसभाको क्यान्टिनमा गफ चुट्न व्यस्त थिए। सभाध्यक्षले एकजनाको नाम तीनपटक बोलाएका थिए। आफ्नो बोल्ने पालोमा गयल हुने सभासद मध्ये ८ जना कांग्रेसका हुन् भने ३ जना एमालेका। एकजना सद्‍भावना पार्टीका हुन्।