पेट्रोलियम पदार्थको अभाव कायमै

काठमाडौँ- काठमाडौँ बजारमा पेट्रोलियम पदार्थकोे अभाव भएपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा सञ्चालित पेट्रोल पम्पको अनुगमनलाई प्रथमिकता दिएको छ ।  उपत्यकामा ११३ पेट्रोल पम्प सञ्चालनमा छन् । ती पम्पबाट दैनिक डिजेल र पेट्रोल गरी एक हजार १०० किलोलि बिक्री हुने गरेको छ । बजारको मागअनुसार पेट्रोलियम पदार्थ नपाएपछि बजारमा आभाव भएको पम्प सञ्चालकले जनाएका छन् ।

उता निगमले केही उद्योगी व्यवसायी एवम् होटेलले पेट्रोलियम पदार्थ भण्डारण गरेका कारण बजारमा अभाव देखिएको आशङ्का गरे पनि अनुगमनका क्रममा त्यस्तो नपाइएको विभागले जनाएको छ । बजार अनुगमनका क्रममा कुनै पनि पम्प तथा उद्योगीले पेट्रोलियम पदार्थको भण्डारण नगरेको विभागका बजार अनुगमन निर्देशक हरिनारायण बेल्वासेले बताए । उनले “बजारमा पर्याप्त नभएकाले नै डिजेल र पेट्रोलको अभाव भएको बताए ।

निगमले पेट्रोल पम्पलाई उपलब्ध गराएको डिजेल केही घन्टाभित्र नै सकिने गरेको छ । कुनै पेट्रोल पम्पले डिजेल मात्र बिक्री गरेका छन् भने कुनै कुनैले पम्पले मात्र पेट्रोल तथा डिजेल दुवै बिक्री गर्दै आएका छन् । डिजेल बजारमा नहुँदा साधारण उपभोक्ता मारमा परेका छन् । निगमका अनुसार बजारमा ४५० किलोलि पेट्रोल र ५५० किलोलि डिजेल उपत्यकामा खपत हुँदै आएको छ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले ग्यासको आपूर्तिमा असहज भए पनि डिजेल र पेट्रोल पर्याप्त मात्रामा उपलब्ध गराएको जिकिर गरे ।