राजधानी नजिकै अर्को इलाम टु सिन्धुपाल्चोक को भोटेचौर स्थित एभरेष्ट चियाबगान

सिन्धुपाल्चोक – कालो बलेरोबाट ओर्लिए लगत्तै भोटेचौरको माथिल्लो डाडाँबाट चिया बगानको दृष्य देखेर उत्साही भएकी काठमाडौंकी लता खड्का चिच्याइन् ‘ओ।।।१ यो त इलाम नै हो।’ सिन्धुपाल्चोकको भोटेचौरमा चिया बगान छ भनेर सुनेकै आधारमा शुक्रबार समूहसहित यहाँ आइपुगेकी लता बिहान उठ्ने वित्तिकै विशाल चिया बगान देखेर आश्चर्यमा परिन्। ‘यो त इलामभन्दा केही कमी छैन,’ चिया बगान हेर्न एकचोटी इलाम पुगिसकेकी उनले सुनाइन्। काठमाडौंस्थित मनमोहन मेमोरियल कलेजकी विद्यार्थी लतासँगै आउने अरु साथीहरु पनि यहाँको चिया बगान देखेर अचम्भित भए। बिहानको सुर्योदय र कटेजकै डिलबाट देखिने हिमश्रृंखलाले उनीहरुलाई आकर्षित गरायो। ‘यस्तो दृष्य त इलाममा पनि पाइदैन,’ उनले तुलना गरिन्। चिसो मौसम सुरुभएयता स्थानीयले कल्पना नगरेको संख्यामा आन्तरिक पर्यटक भोटेचौरका हरिया पाखा हेर्न आए। राजधानीसँगै जोडिएको सिन्धुपाल्चोकको भोटेचौरमा अहिले हजारौं खुसी साट्न आइपुग्ने गरेका छन्।

आन्तरिक पर्यटकले यहाँको चिया बगानलाई अर्को इलाम माने। १७ वर्षअघि फुंग उडेको उजाड पाखो चिया बगानकै कारण अहिले पर्यटकीय गन्तब्य बन्यो। ८८८ चिया बगान अवलोकन गर्न राजधानी र आसपासका बासिन्दा यहाँ आउने गरेको स्थानीय बताउँछन्। ‘राजधानी नजिकै चिया बगान भएको थाहा पाएपछि किन इलाम पुग्नुरु’ शनिबार बिदा मनाउन यहाँ आइपुगेका काठमाडौंस्थित एक सामाजिक संस्थामा कार्यरत निर्पबहादुर बोहराले भने, ‘विशाल चिया बगान हेर्दा इलामको झल्को मेटियो।’ सुनेकोभन्दा निकै मनोरम र विशाल चिया बगान रहेको उनले सुनाए। राजधानी नजिकै चिया बगान हेर्न पाउने भएपछि चिया खेती हेर्न इलाम पुग्नुपर्ने बाध्यता नभएकाले पनि राजधानीका मान्छे आउने गरेका छन्। यहाँका नांगो पाखा पूरै हरियो भएकाले भोटेचौरको मुहार नै परिवर्तन भएको स्थानीय भीमसेन खतिवडा बताउँछन्। ‘चिया बगानकै कारण ओझेलमा परेको गाउँ पर्यटकीय गन्तव्य बनेको छ,’ उनी भन्छन्, ‘हरेक शनिबार बगानमा हुने भीडले आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बढेको छ।’ ‘हिउँद महिनामा सँधै जसो बगान हेर्न आउनेहरु भेटिन्छन्, अरु बेला शुक्रबार र शनिबार भीड हुनेगर्दछ।’

उनले भने, ‘अहिले चिसो मौसम सुरु भएपछि पनि यहाँ आउने पर्यटकको संख्या बढेको छ।’ बगान मात्र हैन अन्य हिसाबले पनि भोटेचौर पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ। बगाननजिकै पाताल गुफा,चमेली माई गुफा र यहाँबाट देखिने हिमश्रृंखलाले पर्यटकलाई थप आनन्दित तुल्याउँछ। बगान सुरु हुनु अघि बँदेलले यो पाखामा लगाइएको बालीलाई नष्ट गरेर स्थानीय हैरान भएका थिए। अहिले यही पाखालाई हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँदा गाउँवासीसमेत उत्साही बनेका छन्। स्थानीयकाअनुसार एक पटक आएकाहरु प्रायः दोहोर्याएर आउने गरेका छन्। ‘यहाँबाट देखिने सुर्योदय र सुर्यास्तका दृष्य वास्तवमै लोभलाग्दो छ’, सदरमुकाम चौतारादेखि बगान अवलोकन गर्न दोहोर्‍याएर आएका दिनेश श्रेष्ठ भन्छन्।

मनले सोचेको काम गरेरै छाड्ने स्वभावका सोमप्रसाद गौचनले सिन्धुपाल्चोक भोटेचौरका पाखालाई इलाम र दार्जिलिङ जस्तै देखे। प्राध्यापन गर्ने क्रममा १७ वर्षअघि घुम्दै संयोगवस भोटेचौर आइपुगेका उनले यो ठाउँ चिया खेतीका लागि अब्बल माने। स्वभावैले आफूलाई लागेको काम गर्नुपर्ने गौचनले स्थानीयको जग्गा भाडामा लिई करोडौं लगानी गरेर चिया खेती सुरु गरि जोखिम पनि मोले। अनि अठोट गरे–‘यो पाखालाई इलामजस्तै बनाउँछु।’ गौचनको अठोटले अहिले पूर्णता पाएको छ। एभरेष्ट चिया बगान नामाकरण गरि सुरु गरिएको यो बगान व्यवस्थित बनाएर उत्पादन सुरु गर्दासम्म सात करोड भन्दा बढि खर्च भइसकेको छ। आन्तरिक पर्यटकका लागि चियाको बगान हेर्न इलाम पुग्नुपर्ने बाध्यताको अन्त्य यही बगानले गरिदिएको छ। राजधानीसँगै जोडिएको सिन्धुपाल्चोकको भोटेचौरका पाखाले इलामको चिया बगानको झल्को मेटाउँछ। भोटेचौर गाविस–९ को एक हजार दुई सय रोपनी भन्दा बढि जग्गामा लगाइएको चियाले तीन वर्षदेखि उत्पादन दिन थालेको छ। पाखालाई सदुपयोग गरेर उनले तीनवर्षदेखि चिया उत्पादन पनि गरिसकेका छन्। केही साथीहरुको सहयोगबाट सुरु गरिएको चिया बगानबाट तीन वर्षदेखि व्यवसायिक उत्पादन हुन थालेको बगानका कार्यकारी अध्यक्ष गौचन बताउँछन्। ‘आन्तरिक व्यवस्थापन कमजोरी हुँदा उत्पादन ढिला भयो,’ उनले भने।

करोडौं लगानी गरेर जोखिम मोलेका गौचन समूहले चिया खेतीका विशेषज्ञ र जानकारहरुको सहयोग लिएर अर्थोडक्स ९बासनादार ० जात रोजे। वगानमा उक्त जातको उन्नत हाइब्रिड पाँच , छ जातका चिया लगाएको छ। जर्मनीलगायत युरोपका अन्य मुलुक र अमेरिकामा पनि मात्रामा निर्यात हुने भोटेचौरको चिया प्रति केजी एक हजार पाँच सय रुपैया सम्ममा बिक्ने गरेको छ। ढिलै उत्पादन सुरु भएपनि बगानमा विभिन्न रोगमा प्रयोग हुने उच्चस्तरको ‘ग्रिन टि’ उत्पादन भइरहेको गौचन समूहको दावी छ। निर्यात भएको ठाउँबाट गुणस्तरीय छ भन्ने प्रतिक्रिया आएको गौचन सुनाउँछन्। आँखाले देख्नेभन्दा बढी पाखामा खेती लगाएर व्यवसाय गरेपनि बगानको उचित संरक्षण भने गर्न नसकिएको उनीहरुको भनाई छ। ‘खेतीका लागि चिया सम्वेदनशील जात हो,’ गौचनको तर्क छ, ‘बगानको संरक्षण र सुरक्षा गर्न राज्यले छुट्टै नीति ल्याएमा नेपालका धेरै जिल्लामा चिया खेतीगर्न सकिन्छ।’ चिया खेती गरेको स्थान व्यवसायिकताका लागि मात्र नभई पर्यटकीय क्षेत्रसमेत हुने भएकाले राज्यले यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाई छ। ‘राज्यको संरक्षण गर्ने नीति प्रष्ट भएमा भोटेचौर मात्र हैन सिन्धुपाल्चोकका धेरै ठाउँ चिया खेतीका लागि अब्बल छन्।’ गौचन भन्छन्। अहिले गौचन समूह यो गाउँलाई पूर्ण पर्यटनमैत्री बनाउने योजनामा छन्। बगानमा आउने पर्यटकलाई यस क्षेत्रका अन्य आकर्षणबारे जानकारी गराउनु जरुरी भएको उनीहरुको तर्क छ। बगानसहित यहाँ भएका अन्य सम्पदालाई संरक्षण र उचित व्यवस्थापन गर्नसके भोटेचौर नमूना हुने उनीहरु बताउँछन्।