धुमधामका साथ तमु ल्होछार पर्व मनाइँदै

पुष १५,काठमाडौँ-आज तमु ल्होछार मुलुक भरका विभिन्न स्थानमा धुमधामका साथमा मनाइदैछ । बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार बिषेसत  गुरुङ समुदायको बसोबास रहने स्थानमा मनाइन्छ । नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् । विदेशमा रहेका सो समुदायका सदस्यले पनि एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन् ।

गुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार छ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।

प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ ।  राम्रो लगाउने र मीठो खाने दिनका रुपमा प्रचलित सांस्कृतिक पर्व नेपालका साथै चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायतमा मनाइन्छ ।