‘हराईरहेको विमानको खोजी पुनः सुरु’

पुष १४,काठमाडौँ -इण्डोनेसियाको जाभा समुद्र क्षेत्रबाट हराईरहेको भनिएको एयर एसियाको यात्रुवाहक विमानको खोजी कार्य केही समयको विश्रामपछि सोमबार विहान पुनः सुरु गरिएको अधिकारीहरुले बताएका छन्। यसअघि उद्धार तथा खोजी कार्य केही समयका लागि स्थगित गरिएको थियो। उद्धार तथा खोजी कार्यमा इण्डोनेसियाले विभिन्न तीनवटा विमानस्थलहरुबाट सैनिक जहाजहरु परिचालन गरेको छ।

हराईरहेको विमानको खोजी तीन हजार पाँच सय माइल क्षेत्रमा गरिने अधिकारीहरुले बताएका छन्। सैनिक जहाजहरुले ६ देखि १२ घण्टासम्म उक्त क्षेत्रमा खोजी गर्ने र त्यसबाहेक विमान हराएको क्षेत्रदेखि उत्तरी र पूर्वी क्षेत्रमा पनि खोजी गर्नेछन्। अधिकारीहरुका अनुसार अहिले भने जाभा समुद्रको बेलिटुंग द्वीप क्षेत्रमा खोजी कार्य केन्द्रित गरिएको छ। विमानमा चालक दलका ७ सदस्यसहित १ सय ६२ जना सवार थिए ।

उक्त क्षेत्रमा प्रवेश गर्दा हराईरहेको विमानले ट्राफिक नियन्त्रण कक्षसंग अन्तिक सम्पर्क गरेको विश्वास गरिएको छ । इण्डोनेसियाको सुराबाया सहरबाट सिंगापुरका लागि उडेको एयर एसियाको उक्त विमानसंग जाभा समुद्र क्षेत्रमा प्रवेश गरेपछि आईतबार सम्पर्क टुटेको अधिकारीहरुले बताएका छन्। उक्त क्षेत्रमा पुगेपछि खराब मौसमका कारण विमानलाई अन्यत्र मोडनुपर्ने पाइलटले बताएपनि त्यसपछि उनले आपतकालीन सम्पर्क नगरेको बताईएको छ।बिबिसी