एमाओवादी बैठक नेतृत्व हस्तान्तरणमा केन्द्रित

पुष १४, काठमाडौ- एकीकृत नेकपा (माओवादी)को केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । विहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुस्पकमल दाहालले राख्नु भएको प्रस्ताव माथि छलफल जारी रहने भएको हो । अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा २०७२ माघमा विशेष महाधिवेशनको आयोजना गर्ने, पार्टीभित्र देखिएको साङ्गठनिक र राजनीतिक विषयमा प्रस्ट पार्ने तथा नेतृत्व हस्तान्तरण गर्ने विषय समावेश रहेको छ ।

हिजोको बैठकमा वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि आफ्नो विचार राख्नु भएको थियो । वरिष्ठ नेता डा भट्टराईले आफूले कहिल्यै पार्टीको कार्यकारी पद नमागेको उल्लेख गर्दै अध्यक्षको प्रस्तावअनुसार नै आफूले एकपटक पार्टीको अध्यक्ष हुने इच्छा राखेको बताउनुभएको थियो ।
पार्टीलाई समयानुकूल अगाडि बढाउन र सबै पक्षको भावनालाई आत्मसात गर्ने गरी क्रमशः नेतृत्व हस्तान्तरण गर्दै जानुपर्ने आफ्नो विगतदेखिकै माग रहेको तर्क गर्दै उहाँले आगामी वर्ष आयोजना गरिने विशेष महाधिवेशनले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु हुने उल्लेख गर्नु भयो ।

अध्यक्ष दाहालको प्रतिवेदनमा आफू मूल नेतृत्वबाट अलग रहने र अध्यक्षमा वरिष्ठ नेता डा भट्टराईलाई निर्वाचित गर्ने प्रस्ताव गर्नुभएको छ । अध्यक्ष दाहालको सो प्रस्तावपछि माओवादीभित्र मिश्रित खालको प्रतिक्रियासमेत प्राप्त भएको छ ।