सहमतिको खाका सहितको प्रतिवेदन आज शीर्ष नेताहरुलाई पेश गर्ने

पुस १३,काठमाडौं – संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन गठित चार दलीय कार्यदलले सहमतिको खाका सहितको प्रतिवेदन आज शीर्ष नेताहरुलाई पेश गर्ने भएको छ । कार्यदलले आज दिउसोसम्म सहमतिको प्रयास जारी राखी साझ बस्ने चार दलको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको हो । छलफल जारी रहेकाले साझसम्म सहमतिको खाका प्रमुख दलको बैठकमा पेश गर्ने तयारी गरेको कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।

कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा(एमाले)का उपाध्यक्ष भीमबहादुर रावल, एमाओवादीका महासचिव कृष्णबहादुर महरा र मधेसी मोर्चाका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण हुनुहुन्छ । कार्यदलका सदस्य एमालेका उपाध्यक्ष रावलले राससलाई दिनुभएको जानकारीअनुसार सम्भवतः आज साँझसम्म विषयमा केही न केही सहमतिको विन्दु निकाल्ने प्रयास भइरहेको छ । दलहरूबीच राज्यको पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा आफ्ना अडान कायमै छन् । सत्तारूढ नेपाली काँग्रेस र नेकपा (एमाले)सहितका दलले संविधानसभाको संवैधानिक–राजनीतिक सहमति तथा संवाद समितमा प्रस्तुत गरेको प्रस्तावमा साझा पहिचानका आधारमा सात प्रदेशसहितको अवधारणा छ ।