संविधानका लागि युवाको दबाब अभियान सुरु

पुस १२, काठमाडौं- विभिन्न ८ वटा राजनीतिक दल निकट युवा संगठनले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गरिनुपर्ने भन्दै समयमै संविधान, संयुक्त युवा दबाब अभियान सुरु गरेका छन् । दबाब अभियान अन्तर्गत नेपाल तरुण दल, युवा संघ नेपाल, वाइसिएल, मधेसी युवा फोरम लगायतका युवा संगठनले आज संविधानसभा भवन अगाडि प्रदर्शन गरेका छन् ।

अभियान अन्तर्गत संविधानसभा भवनको गेटमा काउन्टडाउन घडी राख्ने कार्यक्रम रहेकामा प्रहरीले नमानेपछि युवाले प्रदर्शन र कोणसभा गरेका बताएका छन् । संविधान निर्माणको काममा सभासदले प्रभावकारी भूमिका निर्वाह नगरेका कारण दबाब अभियान सुरु गरिएको युवा नेताहरुले बताएका छन् । युवा संगठनले संविधान जारी नभएसम्म सभासदलाई खबरदारी दिने कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । संविधान निर्माणका लागि दबाब दिन भन्दै यसअघि विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले संविधानसभा भवन अगाडि सडकमा सुतेर सभासदमाथि व्यंग्य प्रदर्शएन गरेका थिए ।