धर्मगुरु विरुद्ध पक्राउ पुर्जी जारी

पुष १२, काठमाडौँ-पाकिस्तानको एउटा अदालतले राजधानी इश्लामावादस्थित लाल मस्जीदका कट्टरपन्थी धर्मगुरु अब्दुल अजीज गिरफ्तार गर्न पक्राउ पुर्जी जारी गरेको छ। पेशावरस्थित स्कूलमा भएको आक्रमणको भत्सर्ना नगरेपछि उनको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई धम्क्याएको आरोप उनी विरुद्ध लगाइएको छ। बीबीसीका दक्षिण एशिया सम्पादक अनवरअसन इथिराजन भन्छन्, अब्दुल अजीज तालेबान समर्थक कट्टरपन्थी धार्मिक गुरु हुन् । यो वर्षको शुरुवाततिर पूर्व अलकायदा नेता ओसामा बीन लादेनको सम्मानमा आफुले सन्चालन गरिरहेको विद्यालयमा पुस्तकालयको नामै परिवर्तन गरेर बीन लादेन पुस्तकालय राखेका थिए। अजीजले गत हप्ता एक सय पचास भन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणको भत्सर्ना नगरेपछि लाल मस्जीद बाहिर सयौं मानिसले विरोध प्रर्दशन गरेका थिए । लाल मस्जीदका एकजना प्रवक्ताले अजीजलाई गिरफ्तार गर्ने प्रयत्न गरिए त्यसको प्रतिरोध गरिने बताएका छ्न। पक्राउ पुर्जी कहिले कार्यान्वयन हुन्छ भन्ने स्पष्ट छैन। प्रदर्शनकारीहरु पनि मस्जीद बाहिर गैर कानुनी प्रदर्शन गरेकोमा अनुसन्धानको घेरामा छन्। बिबिसी