सरकारले आजदेखि लागू हुने गरी गाडी भाडा

पुस ९,काठमाडौं – सरकारले आजदेखि लागू हुने गरी गाडी भाडा घटाएको छ । तेलको भाउ घटेपछि सरकार भाडा घटाउन बाध्य भएपनि यात्रुलाई भने खासै राहत नहुने भएको छ । भाडा १ प्रतिशत मात्र घटाइएकाले यात्रु अहिलेकै भाडा तिर्न बाध्य हुनेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ईन्धनको मूल्यका आधारमा ३५ प्रतिशत र गाडीको पाटपूर्जा, उपभोग्य वस्तुको मूल्य वृद्धी तथा चालक र सहचालकको तलव लगायतलाई ६५ प्रतिशत राखेर सार्वजनिक गाडीको भाडादर कायम गर्ने सिद्धान्त अनुसार भाडा घटाईएको हो । नयाँ भाडादर अनुसार ४ किलोमिटरसम्म १५ रुपैंया, ५ किलोमिटरसम्म १६ रुपैंया, ६ किलोमिटरसम्म १८ रुपैंया, ८ किलोमिटरसम्म १९ रुपैंया, १० किलोमिटरसम्म २१ रुपैंया, १५ किलोमिटरसम्म २२ रुपैंया, १६ किलोमिटरसम्म २५ रुपैंया, १९ किलोमिटरसम्म २६ रुपैंया र १९ किलोमिटरभन्दा माथि २७ रुपैंया कायम गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तै ट्रकको भाडादरमा पहाडतर्फ काठमाडौं पोखरादेखि नारायणघाटसम्मको हकमा २ दशमलव ७३ प्रतिशतले र तराईको हकमा २ दशमलव ०२ प्रतिशतले घटाइएको छ । मिटरजडित ट्याक्सीको भाडा भने घटाइएको छैन । इन्धनको मूल्य घटे अनुसार गाडी भाडा नघटाइएको भन्दै उपभोक्ताले बिरोध गरेका छन् ।