दाताको सहयोगमा अस्पतालको पूर्वाधार जुटाउनु पर्ने बाध्यता

पुस  ८, म्याग्दी-म्याग्दीको जिल्ला अस्पताल बेनीमा दाता खोजेर पूर्वाधार जुटाउन थालिएको छ ।  अस्पतालको क्षमता विस्तार र भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयलगायतका निकायमा एक दशकदेखि पहल गरे पनि सुनुवाइ हुन नसकेपछि विदेशमा रहेका म्याग्देली, स्थानीय व्यक्ति र सङ्घसंस्थामार्फत पूर्वाधार विस्तारको काम गरिएको हो ।

जिल्ला अस्पतालमा कोरियामा रहेका म्याग्देलीको रु २१ लाख लगानीमा आकस्मिक उपचारकक्ष, बहराइनमा रहेका म्याग्देलीको सहयोगमा बिरामी कुरुवा भवन र विकास नेपाल एसोसिएसन बेल्जियमको सहयोगमा रक्तसञ्चार एवम् आँखा उपचार केन्द्रको भवन निर्माण भएको छ ।

अस्पतालमा विभिन्न दाताले बिरामीका लागि शय्या, उपचारमा प्रयोग हुने उपकरण पनि सहयोग गरेका छन् ।  यसैगरी बेनी नगरपालिका वडा नं ५ छापाका निर्माण व्यवसायी नारायण जिसीले व्यक्तिगत लगानीमा अस्पतालमा शल्यक्रिया गरेका बिरामीलाई विश्राम गर्ने भवन निर्माण सुरु गरेका छन् ।