ताप्लेजुङमा बस दुर्घटना, छजना गम्भीर घाइते

पुष ७, पाँचथर -ताप्लेजुङको खाम्दिनेबाट झापाको विर्तामोडतर्फ जाँदै गरेको मे१ख ६४६ नम्बरको त्रिवेणी यातायातको बस आज बिहान सिनाम–४ स्थित चिउरी गोलाइमा दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका छजना गम्भीर घाइते भएका छन् ।

बिहान करिब ५ः३० बजे भएको दुर्घटनामा परी काठमाडाँैकी हिमा दाहाल, झापा शनिश्चरेका टीकाराम पौडेल, पौडेलकी आमा रमादेवी पौडेल, ताप्लेजुङ मामांखेका ६१ वर्षीय इन्द्रबहादुर मावो, पोखराकी एक वर्षीया बालिका हिमा घिमिरे र सिनाम ताप्लेजुङका भीमविक्रम थेवे गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

तत्काल एम्बुलेन्स नपाएपछि खाम्दिम्बेबजार आम्बेगुदिनबाट ताप्लेजुङतर्फ आइरहेको ट्याक्सीबाट बिरामीलाई थप उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै बसमा सवार अन्य यात्रु भने सकुशल रहेका छन् । खाम्दीम्बेबजारबाट २६ जनाको चलानी लिएर हिँडेको बसमा बीच बाटोबाट पनि केही यात्रु सवार थिए । दुर्घटनापछि बसका चालक र सहचालक भने फरार रहेका छन् ।

बसबीच बाटोमा नै पल्टिएको बताइएको छ । दुर्घटनामा परेकाको स्थानीय र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । दुर्घटनाका कारणबारे खुल्न सकेको छैन ।