नेपालमा चलेपनी ओस्कारमा टिकेन ‘झोला’

पुष ६, काठमाडौँ-नेपालमा वाहवाहप् पाएर सर्वाधिक चर्चामा रहन सफल बनेको चलचित्र  झोला ओस्कार अवार्डको सुचिबाट बाहिरिएको छ । चलचित्रका निर्माता तथा कलाकार राज तिमिल्सिनाले दिएको जानकारी अनुसार शुक्रबार ओस्कार को आयोजक कमिटीले जारी गरेको उत्कृष्ट ९ बिदेशीभाषी फिल्मको सुचीमा झोला नपरेको बताए ।

‘सार्क फिल्म फेस्टिबल २०१४’मा उत्कृष्ट नायिकाको अवार्ड देखी नेपालमा समेत विभिन्न अवार्ड र सम्मान पाएको चलचित्र झोलाले ओस्कारमा राम्रो सहभागीता जनाउनेमा सबैले विश्वास राखेका थिए तर अब झोलाले ओस्कारमा सहभागी हुन नपाउने भएको छ । कृष्ण धारावासीको चर्चित कथा झोलामा आधारित चलचित्रलाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा गरिमा पन्तका साथै देशभक्त खनाल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

झोला वर्ष २०७० को बहुचर्चित चलचित्र हो । व्यवसायिक रुपमा निकै सफल रहेको उक्त चलचित्र एक सय वर्ष पुरानो सति प्रथाको वास्तविक कथामा आधारित छ । ओस्कारले शुक्रबार भोटिङ राउन्डको लागी विभिन्न ८३ देशका फिल्मबाट ९ फिल्मको छनौट गरेको हो । जसमा अर्जेन्टिना, एस्टोनिया, जर्जिया, मौउरिटानिया, नेदरल्याण्ड, पोल्यान्ड, रुस, स्वीडेन र भेनेजुयलाको फिल्महरु छानिएका हुन । आगामी फागुन १० अर्थात सन् २०१५ फेब्रुअरी २२ मा अमेरिकाको लस एन्जल्समा ८७ औं ओस्कर अवार्ड हुदैंछ ।