संचारकर्मी क्षेत्रीको थप उपचारका लागी ७ लाख संकलन,सरकारले ५ लाख दिने

पुष ५, काठमाडौँ -ब्रेन ट्युमरबाट पीडित बनेका संचारकर्मी तथा गीतकार सूर्य कुमार क्षेत्री को उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ । ब्रेन ट्यूमरबाट पीडित क्षेत्रीको नेपालमा शल्यक्रिया गरिए पनि डाक्टरकै सल्लाहमा थप उपचारका लागी दिल्ली लगिएको नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालले जानकारी दिए ।

अध्यक्ष अर्यालका अनुसार हालसम्म क्षेत्रीको उपचारका लागि विभिन्न क्षेत्रबाट ७ लाख आर्थिक संकलन भएको छ भने सरकारको तर्फबाट पनि ५ लाख दिने निर्णय भएको छ । क्षेत्रीको काठमाडौं बबरमहलस्थित अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेसका डा बसन्त पन्तसहितको टोलीले गत मंसिर १७ गते क्षेत्रीको ब्रेन ट्युमरको शल्यक्रिया गरेको थियो । प्रेस युनियनका सचिव समेत रहेका क्षेत्री नेपाली कला डटकमका सम्पादक समेत हुन् । उनले सयौँ लोकदोहोरी तथा आधुनिक गीत लेखिसकेका छन् । औँठी चिनो छ, बादलुले चन्द्र छेकेको, पानी पधेँरो, धानको सिरौँला, धोका दिनेलाई के भनुँ र खोइ, डाली पलायो, उडी जाने जेट, धर्ती गोलो छ लगायत दर्जनौँ लोकदोहोरी गीतका संकलक क्षेत्रीको आधुनिक गीतहरु पनि चर्चाकै शिखरमा छन् ।