‘नोबेल पुरस्कार विश्वभरिका बालबालिकाको हो’ सत्यार्थी

पुस-४ काठमाडौं- नोबेल शान्ति पुरस्कार प्राप्त गरेपछि पहिलोपटक नेपाल आउनुभएका भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थीले बालबालिकाको हक अधिकार स्थापित गर्न गरेको प्रयासका कारण आफूले प्रसिद्ध नोबेल पुरस्कार पाएको बताउनुभएको छ । “यो पुरस्कार विश्वभरिका बालबालिकाको लागि हो, बाल हित र अधिकारकै लागि मेरो प्रयास निरन्तर जारी रहनेछ,” एपेक्स लाइफ स्कुलले राजधानीमा आज आयोजना गरेको अभिनन्दन ग्रहण गर्दै कैलाश सत्यार्थीले भन्नुभयो ।

“मैले नोबेल पुरस्कार प्राप्त गरिसकेपछि विश्वभरबाट १० हजार बढी निमन्त्रणा आए तर पहिला मेरा छोराछोरी, भाइबहिनी सम्झेर नेपाल आएँ”– सत्यार्थीले भन्नुभयो । एपेक्स लाइफ स्कुलकी छात्रा आश्रा न्यौपानेको स्वागत सम्बोधनबाट प्रभावित सत्यार्थीले मञ्चमा सम्बोधनको सुरुवातमै भन्नुभयो “श्रेयाको प्रतिभा देखेर म उत्साहित भएँ । सँगै दुई बालिकाको नृत्यलाई मेरी श्रीमतीले भनिन् काठमाडौँमा बालबालिकाले कस्तो सुन्दर नाचेको । म असाध्यै खुसी छु, विमानस्थलदेखि स्कुलसम्म पाएको स्वागत र अभिनन्दनप्रति ।”
सत्यार्थीका प्रायः सबै सम्बोधन बालबालिकालाई मात्र नभई राष्ट्रप्रेमी आम नेपालीका लागि प्रेरणादायी थिए । उनका प्रत्येक शब्दमा नेपालप्रतिको सद्भाव, मोह र यहाँका बालबालिकाको समस्याप्रति जागेको सद्भाव शब्द र मुहारमा झल्किन्थ्यो । पुरस्कार विश्वका बालबालिकाका लागि हो, मेरो लागि होइन, सबै बालबालिकालाई हात उठाएर भन्न लगाउनुभयो सत्यार्थीले अनि थप्नुभयो घरेलु कामदार र विभिन्न बन्दक बनाइएका बालबालिकाको पीडालाई सम्बोधन गर्न म प्रत्यक्ष गएर उनीहरूको मुहार (गाला) मा आँशुको धारा बगाउथे सत्यार्थीको यो उद्गारले झनै भावुक बनाएको थियो ।उहाँले बालबालिकाबाट धेरै असल र नयाँनयाँ कुरा सिक्न सकिने भन्दै उनीहरूप्रति अभिभावकले सरल र मैत्रीपूर्ण व्यवहार देखाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले बालअधिकारकर्मी सत्यार्थीलाई दोसल्ला एवम् अभिनन्दनपत्रसहित सम्मान गर्नुभएको थियो । मन्त्री रिजालले सबैका लागि शिक्षा, गरिबी निवारण र बालअधिकारका पक्षमा सत्यार्थीले गर्नुभएको सत्प्रयासका कारण नै उहाँले नोबेल पुरस्कार प्राप्त गर्न सफल हुनुभएको धारणा राख्नुभयो । बालअधिकार मात्र नभई नेपाली चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय सत्यार्थी उदाहरणीय सामाजिक अभियानता रहेको उल्लेख गर्दै मन्त्री डा रिजालले नोबेल पुरस्कार विजेतालाई स्वागत र अनुभव आदानप्रदान गर्न पाउनु हाम्रा लागि ठूलो अवसर भएको बताउनुभयो ।

एपेक्स लाइफ स्कुलकी विद्यार्थी आश्रा न्यौपानेले नोबेल पुरस्कार विजेता सत्यार्थी बालबालिका तथा मानवअधिकारको क्षेत्रमा प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो ।यसअघि सत्यार्थी कार्यक्रम स्थलमा सहभागिता जनाउने क्रममाः परम्परागत पञ्चैबाजा र धिमेबाजाले स्वागत गरिएको थियो । विभिन्न विद्यालयका विद्यार्थीले गीत र नृत्य प्रस्तुत गरेका थिए ।सोही अवसरमा विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीलाई रु १० हजार तथा प्रमाणपत्र रहेको कार्तिकेय बालप्रतिभा पुरस्कारद्वारा सम्मान गरिएको थियो ।