दुर्व्यसनीको कथा बोकेको ‘इस्केप’ माघ २३ मा आउने

काठमाण्डौ-सामाजिक जनचेतनाको आवाज बोकेको फिल्म ‘इस्केप’ आगामी माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘इस्केप’को ट्रेलर र चलचित्रको रिलिज मिति घोषणा गरिएको थियो । युवा अभिनेता प्रदिप खड्काको लगानीमा निर्माण भएको चलचित्र इस्केपमा निर्माता प्रदिपकै मुख्य अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री रिमा विश्वकर्माले पनि ‘ईस्केप’ एक सन्देशमुलक फिल्म बनेको र ड्रग्स तथा दुर्व्यसनको शिकार बनेको एक युवालाई त्यसबाट बाहिर निकाल्न प्रयास गर्ने एक युवतीको भुमिका आफुले खेलेको भन्दै युवा पुस्ताले चलचित्र इस्केप अनिवार्य रुपमै हेर्नु पर्ने दाबी गरिन् । हाल ईस्केप सम्पादनमा रहेको बताउदैं चलचित्रका सम्पादक अनन्त घिमिरेले चलचित्रलाई सम्पादन पक्षबाट आफुले राम्रो बनाउने प्रयास गरिरहेको बताए ।

प्रदिप मिडिया प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्ममा रीमा विश्वकर्माको अलवा प्रदिप खड्का, कमल श्रेष्ठ मुख्य भूमिकामा छन् । साथमा रश्मी भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष कार्की, निश्चल खरेल, निश्चल लामा लगायतका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् । प्रदिप कार्कीको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान ढंगोलको छायांकन रहेको यो फिल्मलाई सस्पेन्स तथा सामाजिक बिषयमा बुनिएको बताइएको छ ।