संविधानसभा बैठकमा आज पनि छलफल जारी

पुष ३, काठमाडौँ- राजनीतिक सम्वाद तथा सहमति समीतीले बुझाएको प्रतिवेदन आज पनि संविधान सभाको बैठकमा छलफलहुने भएको छ । समितिले बुझाएको प्रतिवेदनमाथि आज पनि विहान ११ बजे बाट छलफल सुरु हुने भएको हो । संविधानसभा नियमावली, २०७० बमोजिम संमितिको प्रतिवेदन माथि संविधानसभामा केहि दिन देखि छलफल हुँदै आएको छ । संविधान जारी गर्ने दिन माघ ८ नजिकिदै जाँदा दलहरुबीच संविधानका विवादित विषयमा सहमतिको साट्टो विवाद चुलिदै गएको छ । सहमती गर्ने भन्दा विधि र प्रक्रियाकै बारेमा दलहरुबीच चर्को मतान्तर देखिन थालेको छ ।

संविधानसभाको हिजो बसेकोे बैठकमा सभासदहरु संविधान जारी गर्ने विधिको विषयमा आरोप प्रत्यारोपमै उत्रिएका थिए । बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सभासदले संविधानका विवादित विषय मतदानको प्रक्रियाबाट टुंग्याउनुपर्ने अडान लिएका छन् भने एकीकृत नेकपा माओवादी र मधेसवादी दलका सभासदले भने विवादीत विषयलाई सम्वाद समितीमा नै फर्काउनु पर्ने बताउँदै आएका छन् ।

एकीकृत नेकपा माओवादी र मधेसवादी दलका सभासदले संविधानका मुख्य विषयवस्तुमा १२ बुँदे समझदारी यताका आन्दोलनका सहयात्री दलहरुबीच सहमति गरिनुपर्ने र सहमति गर्ने जिम्मेवारी संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको भएको तर्क अगाढी सारेका छन् । उनीहरुले समितिको विकल्पमा अर्को संयन्त्र निर्माण गरि प्रश्नपत्र बनाएर दुई तिहाइ बहुमतबाट संविधान जारी गरे त्यसको सामना गर्न आफूहरु तयार रहेको जवाफ दिएका छन् ।