एउटै चलचित्र हजार हप्तासम्म प्रदर्शन भएपछि

एजेन्सी-एउटा चलचित्र कति हिप्ता सम्म लाग्न सक्छ ? ५० हप्ता,सय हप्ता वा दुई सय हप्ता ? तर भारतमा  एउटै चलचित्र लगातार एक हजार हप्तासम्म चलेपछि समाचार सुन्ने सबै आश्चर्यमा परेका छन् । हिन्दी चलचित्रमा रोमान्स र प्रेमको उदाहरण नै बनेको दिलवाले दुल्हनिया लेजाएगेंले शुक्रबार प्रदर्शनको एक हजार हप्ता पूरा गरेको छ ।

यो चलचित्र मुम्बईको मराठा चलचित्र हलमा एक हजार हप्तादेखि प्रदर्शन हुँदै अएको छ । सन् १९९५ अक्टुबर २० मा पहिलो पटक प्रदर्शन भएयता मराठा चलचित्र हलमा दिलवाले दुल्हनिया लेजाएंगेलगातार प्रदर्शन भैरहेको भारतिय संचार माध्यमहरुले जनाएका छन् । यसराज फिल्मसको व्यानरमा बनेको यो चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका थिए ।

उनले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका थिए । बलिउडका किङ खान साहरुख खान र काजोल अभिनित यस चलचित्रले हिन्दी चलचित्रमा प्रेम र रोमान्सको पक्षलाई स्थापित गरेको थियो । यो चलचित्रले सन् १९९६ को फिल्म फेयर अवार्डमा १० विधामा अवार्ड जितेको थियो भने नेशनल अर्वाड पनि पाएको थियो ।