कोसी अञ्चल अस्पतालको एक्स–रे मेसिन बिग्रिएपछि बिरामी मारमा

विराटनगर-दैनिक सयौँ बिरामी उपचारका लागि आउने विराटनगरको कोसी अञ्चल अस्पतालमा रहेको एक्स–रे मेसिन बिग्रिएपछि बिरामी मारमा परेका छन् । अस्पतालमा रहेका दुईवटा एक्स–रे मेसिनमध्ये एउटा दुई वर्षदेखि बिग्रेर थन्किएको  छ । न्यून आर्थिक अवस्था भएका बिरामीले उपचार गर्ने अञ्चल अस्पतालमा दैनिक ८०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछ । एक्स–रे विभागमा दैनिक २०० भन्दा बढी बिरामी एक्स–रे गराउन आउने गर्दछन् । एउटा मात्र मेसिन भएपछि एक्स–रेका लागि आउने गरिब तथा विपन्न बिरामीले फर्किनुपर्ने बाध्यता छ । सम्बन्धित निकायले चासो नदिँदा सर्वसाधारण बाध्य भएर बाहिर महँगो मूल्यमा एक्स–रे गराउन बाध्य छन् ।      अस्पतालमा पूर्वाञ्चलका १६ जिल्लाका तथा भारतीय सीमावर्ती क्षेत्रका बिरामीसमेत उपचारका लागि आउने गर्दछन् ।