पुरस्कारको सबै रकम खर्चेर क्रिकेटर शक्ति गौचनले बनाए एकेडेमी

मंसिर २०, बुटवल – अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाइरहेका छन् राष्ट्रिय क्रिकेट टिमका महत्तवपूर्ण सदस्य शक्ति गौचनले । यिनै चर्चित क्रिकेट खेलाडीको रुपन्देहीका युवामाझ भने फरक खालको चर्चा छ ।उनले यहाँका युवाका लागि क्रिकेट एकेडेमीको स्थापना गरेका छन् । आफूले खेल जीवनमा कमाएको सबै रकम यसमै लगानी गरेर उनले यस्तो एकेडेमी स्थापना गरेका हुन् ।
खेल जीवनमा सक्रिय हुँदाहुँदै पनि राष्ट्रिय टिमका अनुभवी खेलाडीले युवा क्रिकेटलाई मध्यनजर गरेर सन् २००९ मा एकेडेमी स्थापना गरेका थिए । पड्सरीस्थित आफ्नै ३ कट्ठा जग्गामा फैलिएको छ एकेडेमी । आर्थिक अभावकाबीच एकेडेमी सुरु गरेका उनले व्यस्त खेलजीवनबाट समय निकालेर क्रिकेट सिक्न आउने जिल्लाका युवालाई अभ्यास दिइरहेका हुन्छन् ।
‘रुपन्देहीबाट राष्ट्रियस्तरका उत्कृष्ट खेलाडी उत्पादन हुन् भन्ने चाहना छ,’ शक्तिले भने,‘तर खेल अभ्यास गर्नकै लागि यहाँ अन्य स्थान नभएकाले घरकै जग्गा ओगटेर एकेडेमी खोलेको हुँ ।’ भैरहवा क्षेत्रमा रहेको एकमात्र रंगशालामा पनि राष्ट्रिय औद्योगिक मेलाहरु ,विभिन्न संघसंस्थाहरुले कार्यक्रम गर्दा खेलाडी खेल अभ्यास गर्न नपाउने भएकाले एकेडेमी विकल्पका रुपमा विस्तार गरेको उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।