चन्दले युद्ध सुरु गर्लान् ?

मंसिर १९, काठमाडौँ – रोल्पा इरिबाङ क्युरीमा जन्मेका नेत्रबिक्रम चन्दले हालै नयाँ पार्टीको जन्म दिएर फेरि चर्चामा आएका छन् । माओको नाममा अर्को पार्टी गठन गरेकाले मात्र यसको चर्चा भएको होइन, उनले फेरि अर्को ‘विद्रोह’ गर्ने बताएकाले थप तरङ्ग आएको हो ।

बिप्लबका नामले चिनिने चन्दले नेकपा माओवादी नामको पार्टी सोमबार राजधानीको नाचघरमा कार्यक्रम गरी घोषणा गरे । उनको पार्टी घोषणा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाओवादीका कार्यकर्ताहरु समेत सहभागी थिए । उनको कार्यक्रममा पूर्व लडाकूहरुको उपस्थिति उल्लेख्य थियो । मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीबाट अलग भई उनले हालै चितवनमा केन्द्रीय समिति बैठक आयोजना गरी आफू संयोजक बनेका हुन् । उनले स्पष्ट शब्दमा नभनी युद्ध गर्ने संकेत दिएका छन्, प्रचारका लागि भए पनि ।

माओवादीको ‘क्रेज’ घटिरहेका बेला चन्दले किन फेरि माओवादी पार्टी गठन गरे ? के फेरि उनले हतियार उठाउलान् ? यी प्रश्न अहिले बढी उठ्ने गरेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि चन्द कहिलै पनि सुविधाको पदमा रहेनन् । जहिले पनि पार्टीभित्रका बिपक्षी नेता जस्ता रहे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता मोहन बैद्यबीच खटपट हुदा उनी वैद्यतिर लागे । फेरि वैद्यबाट अलग भएर नयाँ पार्टी बनाए । ‘समयको माग अनुसार नयाँ पार्टी बनेको हो’ उनले भने, ‘क्रान्ति अघि बढाउने नबढाउने मुख्य कुरा हो ।’

विद्यार्थी राजनीति गर्दादेखिनै चन्द महत्वाकांक्षी मानिन्थे । उनले एकदिन मुलुकमा साम्यवादी शासन ल्याउने सपना त्यतिबेला देखेका थिए । १० वर्षे सशस्त्र युद्धमा लाग्दा उनको सपना पनि त्यही थियो । तर शान्ति प्रक्रियामा आइसकेपछि उनको सपना बिथोलिन थाल्यो । दाहाल, बाबुराम भट्टराईले लडाकू -माओवादी जनसेना) समायोजन गरेर शान्ति प्रक्रियामा आए, चन्दलाई त्यो कुरा चित्त बुझेको थिएन । करिब अढाइ वर्ष अघि माओवादी बिभाजन हुदा वैद्यले पनि त्यो कुरा बताएका थिए । तर वैद्यले चाहेजस्तो संघर्ष अघि बढाउन सकेनन् । वैद्यको कामकार्वाहीप्रति चन्द असन्तुष्ट बन्दै गए । फलस्वरुप उनले सम्बन्ध बिच्छेद गरेको पत्र गतसाता केन्द्रीय समितिमा बुझाएर चितवनमा केन्द्रीय समिति गर्न हिडे । त्यहा उनले खाका बनाए, ‘मुलुकमा नयाँ क्रान्ति सुरु गर्ने ।’

चन्दसंग लामो समयसंगै काम गरेका एमाओवादी सचिब वर्षमान पुनको बुझाइमा उनले नेतृत्वमा आउन यस्तो रणनीति अपनाएका छन् । ‘बिप्लबजीले केही समय संघर्ष गर्नुहुन्छ, त्यसपछि मूलधारमा आउन वार्ता गर्नुुहुन्छ’ उनले भने, ‘बिप्लबजी आत्मघाती काम गर्नुहुन्न होला ।’

पार्टी गठनसंगै उनले सरकारसंग वार्ता गर्न सकिने बताएका छन् । संघर्ष सुरु नगर्दै वार्ताको कुरा गनुृको पछाडिक उनी राज्यअघि छुट्टै शक्तिको प्रस्तुत हुन चाहन्छन् । बिगतमा संघर्ष गरेपछि मात्र वार्ताको कुरा आउथ्यो, तर चन्दले अहिलेनै सरकारसंग वार्ताको कुरा गरेका छन् । ‘सुकुम्बासी गरिबकामे निर्णय गर्ने वार्ताका लागि तयार छौ’ चन्दले पत्रकार सम्मेलनमा भनेका थिए ।

‘अर्को प्रचण्ड बन्ने सपना’

एमाओवादीभित्र अहिले निकै चर्चाको बिषय बनेको छ, ‘बिप्लब अर्को प्रचण्ड बन्न युद्ध गर्ने रे ।’ यो कुरा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको कानमा परेको रहेछ । दुई साता अघि उनले चन्दको योजनालाई यसरी ब्याख्या गरे, ‘बिप्लव प्रचण्ड बन्ने तयारीबारे सुनेको छु, म एउटा प्रचण्ड जिउदै छु, म जिउदै हुदाहुदै अर्को प्रचण्ड कसरी बन्ने होला ?’ त्यसबेला उनी केही गंभीर पनि भएका थिए । किनकी शान्ति प्रक्रियामा आइसकेपछि उनको नेतृत्वमा पाँच पटक बिभाजन भइसकेको छ ।

बिप्लव प्रचण्ड बन्न सक्छन् ? यो कुराको आंकलन गर्न २० वर्ष अघि र्फकनुपर्छ । जतिबेला प्रचण्डले सशस्त्र युद्ध सुरु गरेका थिए, त्यसबेला नेपालको राजनीति र सामाजिक संरचना बिल्कुल सामान्तवादी थियो । मुलुकमा शोषणा जर्जर थियो । अहिले राजनीतिक र सामाजिक संरचना फेरिएको छ, जनता सचेत भएका छन् । २० वर्षपछिको राजनीतिक चेतना फेरिएको छ । शोषणको रुप फेरिएको छ, त्यसबिरुद्धको संघर्ष पनि उस्तै हुन सक्दैन ।

बिप्लव प्रचण्डनै बन्न पहिले सशस्त्र यद्ध सुरु गनुपर्ने हुन्छ । पार्टी घोषणा कार्यक्रममा उनले त्यसको खण्डन गरे । ‘फेरि युद्ध गर्ने हल्लामा कुनै आधार छैन । हामीले बन्दुक बोक्ने कुरा गरेको छैन । दिमागमा बन्दुक भए जतिबेला पनि आइपुग्छ’ उनले भने, ‘त हामी संघर्ष गर्छौ । राज्यले दमन गरे त्यसको प्रतिवाद हुनेछ ।’ आन्तरिक तयारी गरेर गाउदेखि सहससम्म संघर्ष गर्ने उनको रणनीति छ । त्यसका लागि भूमिगत रुपमा उनले तयारी सुरु गरेका छन् । उनले सशस्त्र युद्ध गर्ने बिषयमा धेरैको आशंका छ । किनकी यतिबेला सशस्त्र संघर्ष गर्नु उनका लागि आत्मघाती हुने अनुमान धेरैले लगाएका छन् । ‘गाउका जनता मात्र उत्पीडित छैनन्, सहरका पनि छन्, त्यसैले एकतावद्ध भएर लड्नुपर्छ’ उनको भनाइ छ ।

माओवादी लडाकू शिविरमा बसेको बेला केही हतियार लुकाएको आशंका बिप्लव माथि छ । त्यसमध्ये केही अत्याधुनिक हतियारसमेत भएको एमाओवादी निकट पूर्व लडाकू कमाण्डरको भनाइ छ । उनको अनुसार बिप्लवसंग करिब दुई सय हतियार छन् । त्यो कुरा बिप्लवले अस्वीकार गरेका छन् । ‘प्रचण्डले सबै हतियार राज्यलाई बुझाइसक्नु भएको छ’ उनको तर्क छ । तत्काल चन्दको संयोजकत्वम बनेको माओवादीले हतियार उठाउने संभावना भने कम छ । त्यसको तयारी भने उनले सुरु गरिसकेका छन् ।

उनले कस्तो संघर्ष गर्लान् ?

पार्टी घोषणा कार्यक्रममा नवगठित नेता धर्मेन्द्र वास्तोलाले कांग्रेस प्रमुख दुश्मन भएको बताएका थिए । त्यसको जवाफ दिने क्रममा चन्दले कांग्रेसमा ‘दलाल’ अरु बढी भएको भन्दै प्रमुख दुश्मन हुनु स्वभाविक भएको बताए । सांकेतिक रुपमा बिप्लवको संघर्ष बुझ्न सकिन्छ ।

यो माओवादीले केही पुजीपति वर्ग, भ्रष्टाचारको आरोप लागेका कर्मचारीलाई निशाना बनाउन सक्ने छ । गाउ र सहरमा संघर्ष केन्दि्रत गर्ने उसको नीति छ । मुलुकमा संविधान बन्न ढिलाइ भयो भने यो माओवादीका लागि संघर्षका एजेण्डा धेरै हुनेछन् । महंगी, शिक्षा, स्वास्थ्यलगायतका बिषय पनि उठाउने छ । एकपटक ध्वंसात्मक संघर्ष गरी उसले आफू स्थापित हुने रणनीति अघि सार्ने छ ।

तर १० वर्षे सशस्त्र युद्धमा थिलोथिलो भएका जनताले बिप्लवलाई कति साथ देलान् भन्ने बिषयमा यकिन छैन । उनको मुख्य आधार क्षेत्र रोल्पाको थवाङ हो । थवाङमा पछिल्लो निर्वाचनमा शुन्य मतदान भएको थियो । त्यसपछि कालीकोटलगायतका केही क्षेत्रमा उनको प्रभाव छ । तराईका कपिलवस्तुलगायतका जिल्लामा उनको पार्टीको संगठन भने बन्ने छ । बिप्लवको घर भएकाले त्यहा पनि उनको केही प्रभाव देखिन्छ ।

महराको ब्यंग्य

कात्तिक अन्तिम साता एमाओवादी महासचिब कृष्णबहादुर महरा कपिलवस्तु हुदै रोल्पा जादै थिए । ठिक त्यतिबेला चन्दको घर भएको कपिलवस्तुको जंगल देखाउदै भने, ‘बिप्लवजीले यही देखेर सशस्त्र युद्धको कुरा गरिरहनु भएको छ ।’ चन्दका राजनीतिक र शैक्षिक गुरु रहेका महराको अर्को पनि टिप्पणी थियो, ‘अब फेरि उही ढंगलको युद्ध गर्नु आत्मघाती हुनेछ ।’ महराको ब्यंग्यमा भने गंभीर विषय लुकेको थियो । त्यतिबेला उनी गंभीर देखिन्थे ।

चन्दले आफ्नो गाउ नजिकको जंगलमा पहिलो राष्ट्रिय भेला गरी वैद्यबाट अलग हुने निर्णय गरेका थिए ।

यी हुन चन्द

चन्द ११ फागुन ०२४ मा रोल्पाको इरबिाङ गाउँको क्युरीमा  जन्मिएका हुन् । ०४३ मा विद्यार्थीका रोल्पा जिल्ला अध्यक्ष भए ।  त्यसपछि उनी अखिल छैटौको केन्द्रीय उपाध्यक्ष बने । ०५४ सालमा चन्द कर्णालीाली  उपक्षेत्रीय ब्युरो इन्चार्ज भए  । भदौ ०५५ मा भएको चौथो विस्तारति बैठकबाट केन्द्री सदस्य बनाइए । ०६१-६२ सालतिर रोल्पा, रुकुमलगायत केही  भूगोललाई समेटेर बनाइएको केन्द्रीय आधार इलाकाका ब्युरो इन्चार्ज नै भए ।

शान्ति प्रक्रियामा आइसकेपछि वर्षमान पुनसंगै उनी स्थायी समिति सदस्य भए । पार्टी बिभाजन भएपछि वैद्य माओवादीको सचिब भए । वैद्यसंग सम्बन्ध बिच्छेद गरेपछि उनी नवगठित माओवादीको संयोज बने ।

एमाओवादीको वाइसीएल सक्रिय रहेकै बेला चन्दको नेतृत्वमा जनस्वंसेवक ब्युरो बन्यो । त्यो पार्टीभित्र बिवादमा पर्‍यो । उनले सैन्य दस्ताको रुपमा त्यसबेला विकास गर्न चाहेका थिए । लडाकू समायोजनको सशस्त्र बिरोधीका रुपमा रहेका चन्द साधारण जीवनयापन गर्छन् । संगठन निर्माणमा सिपालु उनी कार्यकर्तामाझ आफ्नै छाप छोड्न सफल छन् । कान्तिपुर दैनिकमा टिप्पणी छ ।