सुरक्षा निकायमा फेसबुक निर्देशिका

मंसिर १८, काठमाडौ- प्रहरी प्रधान कार्यालय नक्सालमा भएको पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठकमा एक महिला प्रहरीको फेसबुक प्रोफाइल देखाइयो । गन्जीमात्र लगाएको प्रोफाइल तस्बिरमा उनले युनिर्फमको सर्ट हातमा बोकेको देखिन्छ । फौजी संगठनका सदस्यले यस्तो तस्बिर राख्नु अमर्यादित हुने भन्दै संगठनभित्र सामाजिक सञ्जाल फेसबुक चलाउने निर्देशिका बनाउने तयारी गरिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले मंगलबार फेसबुक सञ्चालन निर्देशिका बनाउन पीसीसीमा प्रस्ताव राखेको हो । सचिवालयले राखेको प्रस्तावमा बैठकमा सहभागी अन्य प्रहरी अधिकारीहरूले आ-आफ्नो राय सुझाव दिएपछि उक्त निर्देशिका कार्यान्वयनमा आउनेछ । पीसीसीमा प्रहरी मुख्यालय र काठमाडौंमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) भन्दा माथिल्लो दर्जाका अधिकारीहरू सहभागी हुन्छन् ।

प्रहरी प्रवक्ता नायब महानिरीक्षक -डीआईजीपी) माधव जोशीले सामाजिक सञ्जाल प्रयोगबाट राम्रो चेतना जाने तर त्यसलाई मर्यादित बनाउनुपर्ने बताए । नेपाल प्रहरीको ‘अफिसियल’ फेसबुक पेज पनि छ । त्योबाहेक मातहतका सबै प्रहरी कार्यालयलाई फेसबुक प्रोफाइल खोलेर

आफ्नो कामबारे सर्वसाधारणलाई जानकारी गराउन एक वर्षअघि नै परिपत्र गरिएको थियो । मातहतका प्रहरी कार्यालयको फेसबुकको ढाँचासमेत फरक परेकाले ती सबैलाई यो निर्देशिकाले समेट्ने डीआईजीपी जोशीले बताए । संगठनलाई अहित हुने, सामाजिक मर्यादामा आँच पुर्‍याउने लगायतका कुरा प्रहरी कर्मचारीले पोस्ट, लाइक वा कमेन्ट गर्न नपाइने व्यवस्था गर्न लागिएको हो । प्रहरी कर्मचारीहरू कार्यालयको काममा भन्दा बढी फेसबुकमा अल्भिmन थालेपछि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक नखुल्ने व्यवस्था पनि गरिएको छ ।

अर्को अर्धसैनिक संगठन सशस्त्र प्रहरी बलले मातहतका प्रहरी कार्यालयलाई मर्यादा नाघेर फेसबुक नचलाउन पटक/पटक निर्देशन दिंदै आएको छ । सशस्त्र प्रहरी बलका नायब उपरीक्षक -डीएसपी) अजय छतुकलीले फेसबुकलगायत अन्य सामाजिक सञ्जाल प्रयोग गर्नका लागि आचारसंहिता बनाएको बताए । उनका अनुसार, सामाजिक सञ्जालमा आफू र आफ्नो संगठनलाई आँच आउने किसिमका कुरा लेख्न पाइँदैन । यस्तै सरकारको काम कारबाहीको विपरीत वा त्यसलाई कटाक्ष गरेर लेख्न नपाइने आचारसंहितामा छ । आफ्नो संगठन वा अरू कसैको पेसालाई नराम्रो भनेर लेख्न नपाइने पनि उनले बताए । ‘केही कुरा चित्त नबुझे पनि स्थानीय जनताविरुद्ध र सामाजिक मर्यादा उल्लंघन हुने कुरा लेख्न पाइँदैन,’ छतुकलीले भने, ‘अशिष्ट भाषा प्रयोग र संगठनको नराम्रो सन्देश जाने किसिमका तस्बिर पनि राख्न पाइँदैन,’ उनले भने कान्तिपुर दैनिकमा खबर छ ।

सशस्त्रले आचारसंहितामा ब्यारेकमा आराम गरेको वा अन्य गतिविधि गरेको कुरा राख्न नपाइने उल्लेख गरेको छ । राजनैतिक कुरा लेख्न मात्र होइन, कमेन्ट, लाइक वा सेयर गर्नसमेत निषेध गरिएको छ । कार्यालयका कागजपत्रको फोटो खिचेर राख्न पनि मनाही गरिएको छ । यसैगरी व्यक्तिगत रिसिइबी वा विवादलाई संगठनको नाम दिन नपाइने व्यवस्था पनि गरिएको छ ।

नेपाली सेनाले पनि सामाजिक सञ्जाल प्रयोगमा आफ्नै नीति बनाएको छ । जनसम्पर्क तथा मिडिया नीतिमा सामाजिक सञ्जाललाई समेत समेटिएको सैनिक प्रवक्ता सहायक रथी जगदिशचन्द्र पोखेलले बताए । पोख्रेलका अनुसार फेसबुकमा अमर्यादित तस्बिर राख्न र

कुनै विषयमा आफ्नो राय दिन पाइँदैन । फेसबुक प्रचलनमा आउन थालेका सुरुवाती दिनमा सेनाले युनिर्फम लगाएको तस्बिर फेसबुकमा राख्न निषेध गरेको थियो । ‘द्वन्द्वकाल भर्खरै सकिएकाले सम्बन्धित व्यक्तिलाई सुरक्षा खतरा हुनसक्ने अनुमान गर्दै रोक लगाएको थियो,’ उनले भने, ‘तर पछिल्लो समयमा कसैले तस्बिर राख्न सक्छन्, तर मर्यादित हुनुपर्नेछ ।’