म्यान सिटीद्धारा साउथह्याम्टन पराजित

काठमाडौं-इङ्लिस प्रिमियर लिगअन्तरगत आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी विजयी भएको छ ।

सिटीले साउथह्याम्प्टनलाई उसैको घरेलु मैदानमा ३–० गोलले पराजित गरेको हो । सिटीलाई महत्वपूर्ण तीन अंक दिलाउन याया टुरे, फ्रयांक लाम्पार्ड र ग्याएल क्लिचीले एक एक गोल गरे ।

सिटीको जितमा सयौं खेल खेलेका सजिर्यो अग्वेरो नायक सावित भए । सयौं खेलमा गोल गर्न नसकेपनि उनले गोलका लागि दुई वटा अवसर सृजना गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा सिटीले दोस्रो हाफमा अग्रता लियो ।

सिटीका लागि खेलेको ५१ औं मिनेटमा अग्वेरोले साउथह्याम्प्टनको डी एरियबाट दिएको पासमा याया टोरेले गोल गरे । सिटीले अग्रता लिएको अवस्थामा खेलको ७४ औं मिनेटमा इक्वालियम मंगलाले रातो कार्ड खाएपछि सिटी १० खेलाडीमा सीमित भयो ।

दश खेलाडीमा सीमित भएपछि  केही समय डिफेन्सिफ खेलेको सिटीले काउन्टर एट्याकमा ८० औं मिनेटमा अर्को गोल थप्यो । यो पटक जेम्स मिल्नरको पासमा फ्रयांक लाम्पार्डले गोल गरे ।

साउथह्याम्पटनको एट्याकलाई विफल पार्दै सिटीले ८८ औं मिनेटमा अर्को गोल थप्यो । यो पटक सिटीका लागि डिफेन्डर ग्यायेल क्लिचीले गोल गरे । सिटीका लागि उनको यो पहिलो गोल हो । क्लिचीले सिटीका लागि अग्वेरोको पासमा गोल गरेका थिए ।

जितसँगै सिटी २७ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लेको छ । साउथह्याम्प्टन भने यो हारपछि २६ अंकका साथ तेस्रो स्थानमा झरेको छ । १३ औं चरणका खेल सकिँदा चेल्सी ३३ अंकका साथ लिगको शिर्ष स्थानमा छ ।