माघ ८ को समयसिमा नभुलाैँ

मंसिर ८, काठमाडौं-राष्ट्रपति रामवरण यादवले प्रमुख दलहरूबीच दुरी बढेकोमा चिन्ता व्यक्त गर्दै सहमतिको वातावरण निर्माण गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन्।

सार्कको १८ औं शिखर सम्मेलनको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराउन आइतबार राती शीतल निवास पुगेका प्रधानमन्त्री कोइरालालाई दलीय सहमतिका आधारमा संविधान निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन आग्रह गरे।
दलहरुबीच बढेको दुरी तत्काल हटाएर सहमतिको वातावरण निर्माण गर्नुहोस्  राष्ट्रपतिलाई उद्धृत गर्दै सचिव ललितबहादुर बस्नेतले  भने, संविधानका अन्तर्वस्तुमा सहमतिमा निमार्णमा जुट्नुस्। नागरिक दैनिकमा समाचार छ ।

पूर्व प्रतिबद्धता अनुसार संविधान निर्माण प्रक्रियाले गति लिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै राष्ट्रपति यादवले दलहरूबीच देखिएको गतिरोध हटाई सहमतिको वातावरण बनाउन पनि प्रधानमन्त्रीलाई सुझाएका छन्।

संविधानका अन्तर्वस्तुमा सहमति जुट्न नसक्दा संविधान निर्माण प्रक्रिया नै अन्योलमा परेका बेला राष्ट्रपतिले संविधानसभा निर्वाचनका बेला प्रमुख दलले गरेको प्रतिबद्धता स्मरणसमेत गराए। दलहरूबीचको बढ्दा दुरीले जनतामा आशंका जन्माएको उल्लेख गर्दै राष्ट्रपतिले माघ ८ को समय सीमा नभुल्न आगह्र गरेका थियो। प्रमुख दलबीच भएको सहमति २४ घन्टामा नै बिथोलिएकोमा पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरेका छन्।
प्रधानमन्त्री कोइरालासँग भेटअघि राष्ट्रपति यादवले आइतबारै एमाले अध्यक्ष केपी ओलीसँग समेत भेटी संविधान निमार्णमा भएको अवरोधप्रति चासो व्यक्त गरेका थिए। दलीय सहमतिको आधारमा संविधान निमार्णमा देखिएको अवरोध हटाउन उनले आग्रह गरेका छन्।
राष्ट्रपति यादवले शुक्रबार प्रमुख प्रतिपक्षी दलका नेता एवं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार र तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरलाई शीतल निवासमा छुट्टाछुट्टै भेटी संविधानका विवादित विषयमा सहमति खोज्न आग्रह गरेका थिए।