सम्हालिँदै पाकिस्तान

मङ्शिर ४, एजेन्सी-पाकिस्तानले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन बुधबारको खेल समाप्ति हुँदासम्म ६ विकेट गुमाएर दुई सय ८१ रन जोडेको छ। न्युजिल्यान्डले पहिलो पालीमा बनाएको चार सय तीन रनभन्दा पाकिस्तान अझै एक सय २२ रनले पछाडि छ।

पाकिस्तानका लागि पहिलो पालीमा अजहर अली र युनिस खानले अर्धशतक बनाए। अजर ७५ र युनिस ७२ रन जोडेर आउट भए। आसाद सफिकले पनि ४४ रनको योगदान गरे। मिसवाह उल हक २८, तउफिक उमर १६ र सान मसुद १३ रन बनाएर आउट भए।
केवल ३२ रन जोड्दा दुई विकेट गुमाएको पाकिस्तानका लागि अजहर र युनिसले तेस्रो विकेटका लागि एक सय १३ रनको साझेदारी गरे। अजहरले चौथो विकेटका लागि मिसवाहसँग ५० रनको साझेदारी गरे। विकेटकिपर सरफराज अहमद २८ र यासिर खान एक रनमा अविजित छन्।
अजहरले दुई सय २५ बलको सामना गरी एक छक्का र ६ चौका प्रहार गरे। एक सय ६० बल खेलेका युनिसले दुई छक्का र सात चौका हिर्काए। न्युजिल्यान्डका बलर इस सोढीले दुई तथा ट्रेन्ट बोल्ट, टिम साउथी, मार्क क्रेग र जेम्स निसामले एकएक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डका लागि टम लाथमले एक सय ३७ रन जोडेका थिए। कप्तान ब्रेन्डन म्याककुलुम र क्रेगले ४३/४३ रन बनाएका थिए। यसैगरी बीजे वाटलिङले ३९, सोढीले ३२ र रोस टेलरले २३ रन जोडेका थिए। पाकिस्तानी बलर जुल्फिकर बाबरले चार तथा एहसान अदिल र यासिर शाहले दुईदुई विकेट लिएका थिए। तीन खेलको शृंखलामा पाकिस्तान १-० ले अगाडि छ।