अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला रोल्पामा

कात्तिक ३०, काठमाडौ-२०१५ मा हुने अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला रोल्पामा हुने भएको छ ।आगामी माघ २२ देखि फागुन १ गतेसम्म रोल्पाको सदरमुकाम लिबाङमा अखिल नेपाल चलचित्रकर्मी सङ्घको आयोजनामा पहिलोपटक कार्यशाला हुन लागेको हो ।

कार्यशालालाई भव्यतापूर्वक सफल पार्न शनिबार सदरमुकाम लिबाङमा चेतन कुँवरको संयोजकत्वमा १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

समितिको सदस्यमा जिल्लास्थित पत्रकार, साहित्यकार, उद्यमी, व्यवसायी, कलाकार तथा राजनीतिक दलका प्रतिनिधि रहेका छन् ।

सम्भाव्यता अध्ययन गर्न रोल्पा पुगका सङ्घका अध्यक्ष केपी पाठक र उपाध्यक्ष अग्रज केसीले शनिबार पत्रकार सम्मेलन गरी कार्यशालाबारे जानकारी दिएको राष्ट्रिय समाचार समितिले उल्लखे गरेको छ ।

स्थानीय व्यवस्थापन समितिले कार्यशाला सफल पार्न यातायात, प्रचारप्रसार, बसोवास, खानपिनलगायत सम्पूर्ण जिम्मेवारी बहन गर्ने जानकारी आयोजकले दिएको छ ।

नौ दिनसम्म चल्ने कार्यशालाका क्रममा रोल्पाली कला, संस्कृति, पर्यटन र यहाँको सामाजिक अन्तद्र्वन्द्वमा आधारित विभिन्न १० वटा चलचित्रको छायाङ्कन गरी जिल्लामै प्रदर्शन गरिने छ । कार्यशाला सम्पन्न हुने अवधिमा रोल्पाको ऐतिहासिक, राजनीतिक, पर्यटकीय एवम् विविध महत्व बोकेको विभिन्न स्थानमा पुगी सोही परिवेशमा आधारित कथावस्तु समावेश भएका चलचित्र निर्माण गरिने छ ।