कालो कपडा लगाएर कांग्रेस कार्यालयमा धर्ना

काठमाडौ, ३० कात्तिक- नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन सातौं पटक स्थगित गरिएकोमा विरोध जनाउदै उपत्यकाका विभिन्न क्याम्पस ईकाईहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयको प्रांगणमा ११ जनाले कालो कपडा लगाई,अनुहार छोपेर , लालटीन बोकी ११ मिनेटसम्म मौन धर्ना दिई विधिवत रुपमा ११ औं महाधिवेशनको माग गरेका हुन् ।

महाधिवेशन स्थगित गराएर पार्टी नेतृत्वले लाखौं विद्यार्थी एवं कार्यकर्ताहरुको अपमान गरेको भन्दै उनीहरुले सांकेतिक विरोध जनाएका हुन् । ‘हठात् रुपमा महाधिवेशन स्थगन गरिएबाट पार्टीमा आन्तरिक लोकतन्त्र विरुद्ध प्रहार भएको छ । त्यही आन्तरिक लोकतन्त्रको खोजी गर्न लालटिन बालेर आज हामी आफ्नै केन्द्रीय कार्यालयमा आएका छौं ।’ ग्रामीण आर्दश क्याम्पसका नेविसंघका सभापति सुशील भट्टले बताए ।

प्रदर्शनकारीहरुको कालो पोशाकमा ‘नेविसंघलाई बन्धक बनाउनेहरु हो, खबरदार १ उज्यालो बिहानी कहिले हुन्छ रु’ भन्ने नारा लेखिएको थियो । कार्यक्रममा बोल्दै नेविसंघका नेताहरु बलदेव तिमल्सेना, रामप्रसाद अधिकारी, हिमालदत्त श्रेष्ठ,नवराज त्रिपाठीलगायतले यथाशीघ्र विधिवत् महाधिवेशन गर्न माग गरे । सांकेतिक विरोध कार्यक्रमका आयोजक क्याम्पसका ईकाईहरुले केही दिनअघि मात्रै प्रजातन्त्र सेनानी शिव कंगालका छोराको अध्ययनका लागि ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।