फेरि घट्यो कुखुराको भाउ

कात्तिक २७,बनेपा– मासु व्यवसायीले फेरि ब्रोइलर कुखुराको भाउ घटाएका छन्। पाँच दिन नपुग्दै उनीहरुले मिलेमतोमा भाउ घटाएका हुन्। अघिल्लो शनिबार जिउँदो ब्रोइलरको मूल्य किलोमा १० रुपैयाँ घटाएका उनीहरुले बिहीबार थप ५ रुपैयाँ घटाए। कुखुराको खरिद मूल्य १ सय ५५ रुपैयाँ कायम भएको छ।खरिद मूल्य तोकिए पनि किसानले कोल्ड स्टोरबाट तोकिएको भाउ पाएका छैनन्। सम्पूर्ण कोल्डस्टोरले यो भाउको २ प्रतिशत वा ५ रुपैयाँ प्रतिकेजी जर्ती भन्दै कटाउने गरेका छन्।२०७१ वैशाखमा जिउँदो ब्रोइलर प्रतिकिलोको २ सय ४० पाएका किसानले भदौ अन्त्यसम्ममा मुस्किलले १ सय ८० रुपैयाँ पाएका थिए। अहिले तयार भएको ब्रोइलरको एकदिने चल्ला किन्दा किसानले प्रतिगोटा ७५ रुपैयाँसम्म तिरेका थिए, ‘चल्लाको बढ्दो मृत्युदर, औषधी, भ्याक्सिन, दाना र व्यवस्थापन खर्च जोड्दा १ सय ८० देखि १ सय ९० सम्म प्रतिकिलो लागत पर्ने गरेको छ,’ उनले भने।