विप्लबको भुमिगत भेला जारी

कात्तिक २७ काठमाडौँ-नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द समूहले आयोजना गरेको राष्ट्रिय भेला कपिलवस्तुको शीवगढी जंगलमा जारी छ । सचिव चन्द तथा पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा सहभागि भेलामा ४१ जिल्लाका २–२ जना प्रतिनिधि रहेको बताइएको छ । जसमा अवध राज्य अन्र्तगत कपिलवस्तु, रुपन्देही तथा नवलपरासीबाट ५–५ जना प्रतिनिधि सहभागि भएको कपिलवस्तुका जिल्ला इन्चार्ज रहेको एक सदस्यले जानकारी दिए । भेलाले केन्द्रीय सत्ताको उद्देश्यसहित गाउ र सहरबाट आफ्नो विशेषता अनुरुप जनसत्ता निर्माण गर्दै, पुरानो राज्यसक्ता ध्वस्त गर्न बलियो र नियमित सेना निर्माण, कार्यकर्ताको भरणपोषण, जनतालाई आथिर्क उपार्जनमा सहयोग पुर्याउनेसहित जनवादी अर्थसम्बन्ध निर्माण गर्ने योजना बनाउन लागेको छ । कम्युनिष्ट पार्टीहरुसँग भाइचारा सम्बन्ध निर्माण, कम्युनिष्ट सरकारसँग सन्तुलित सम्बन्ध कायम गर्ने र पुजीवादी देशहरुलाई संघर्ष र सन्तुलनको नीतिमा राख्ने अन्तराष्ट्रिय रणनीति यो समूहले बनाउन लागेको छ ।