बाथ र मुटुरोगको सुई अभाव

कात्तिक २७,काठमाडौं – औषधि व्यवस्था विभागले आयातको सिफारिस नदिएका कारण बाथ मुटुरोगीका लागि अत्यावश्यक ‘पेनिड्युरा’ इन्जेक्सन केही सातादेखि मुलुकभर अभाव भएको छ । बाथ मुटुरोगीलाई सरकारी अस्पतालबाट निःशुल्क दिइने यो औषधि नहुँदा उपचार प्रभावित भएको छ ।

नेपाल हर्ट फाउन्डेसनका अनुसार मुलुकमा करिब एक लाख बाथ मुटुरोगी छन् । यसमध्ये करिब ५० हजारलाई यो इन्जेक्सन चाहिन्छ । हाल करिब १० हजार जनाले निःशुल्क रुपमा यो इन्जेक्सन लिइरहेका छन् ।

यो इन्जेक्सन नदिँदा मुटुको भल्भ खराब भएका बाथ मुटुरोगीको भल्भ झन् बिग्रिदै गएर हर्ट फेल हुने ,शल्यक्रिया गर्नुपर्ने वा मृत्युसमेत हुन सक्ने फाउन्डेसनका अध्यक्ष एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए । उनका अनुसार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हुने मुटुको कुल शल्यक्रियामध्ये ३० प्रतिशतजति बाथ मुटुरोगसम्बन्धी छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।