एक महिना पछि क्यान्सर अस्पताल ताला

कात्तिक २६,चितवन-चितवनस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालको ताला आज खुलेको छ । एक महिनादेखि विभिन्न माग राख्दै बन्द अस्पताल आज कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएपछि खुलेको हो । अस्पतालले कर्मचारीलाई बढेको तलब दिनुपर्ने, राजनीति गर्न नहुनेलगायत आठबुँदे माग राखेर उनीहरू गएको असोज २९ गतेदेखि आन्दोलित थिए । चरणबद्ध आन्दोलन घोषणा गर्दै कर्मचारीले धर्ना र तालाबन्दी गर्दै आएका थिए । राति अबेर भएको वार्तामा सहमति निस्किएपछि सबै आन्दोलन फिर्ता भएको काँग्रेस निकट स्वास्थ्यकर्मी सङ्घका प्रतिनिधि रमेश शर्मा पौडेलले बताए । सरकारले बढाएको तलब भत्ता अस्पतालले कर्मचारीलाई दिनुपर्ने, अस्पतालका कर्मचारी र कार्यकारी निर्देशकबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने, प्रशासनमा सरुवा भएका प्राविधिक सेवाका कर्मचारीको सरुवा खारेज गर्नुपर्नेसहितका माग कर्मचारीले राखेका थिए । कर्मचारीको सेवासुविधा बढाउने, कर्मचारीको व्यवस्थापन गर्ने, बिग्रिएका उपकरण मर्मत गरी सञ्चालन गर्नेलगायत २१ बुँदे सहमति भएको पौडेलले जानकारी दिए ।