सहमति जुटाउन प्रधानमन्त्री नै उदासिन

कात्तिक २२, काठमाडौ -संविधानको विवादित विषयमा सहमति जुटाउन बस्ने बैठकहरुमा सरकार प्रमुख र संविधानसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री सुशील कोइरालाको भूमिका र माग धेरै छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले त उनलाई भेटेरै सहमतिको पहल गर्न पटकपटक आग्रह पनि गरे । तर पनि त्यस्तो बैठकहरुमा प्रधानमन्त्री कोइराला रुची नै देखाउँदैनन्, नयाँ पत्रिकामा खबर छ ।

एमाओवादीले आपत्ति जनाएपछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट र्फकेपछि मात्रै कोइराला शीर्षतहका एक-दुई बैठकमा मात्रै सहभागी भए । आफ्नो सरकारी निवास बालुवाटारबाहिर हुने बैठकमा उनी सहभागी छैनन् ।

अमेरिकाबाट फर्केयता संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा त कोइराला एकपटक पनि सहभागि भएनन् । उनी समितिका सदस्य पनि हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार संसद् खुलाउन एकीकृत माओवादीसँग भएको छलफलमा कोइराला उपस्थित भएका थिए ।

एकदुई बैठकमा मात्रै सहभागि भएका उनी आफू सहभागि नभए पनि प्रधानमन्त्रीले अरु नेतालाई वार्ता,संवाद र सहमति गर्ने जिम्मा दिएको अधिकारीले बताए । तर कांग्रेसकै केही नेता तर्कपूर्ण सवालजवाफ र निर्णय क्षमताको अभावका कारण पनि कोइराला शीर्ष वैठकमा नजाने गरेको दाबी गर्छन् ।