२१ लाख रुपैयाँसहित भन्सारका सुब्बा पक्राउ

 कात्तिक २२, काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २१ लाख ४० हजार रुपैयाँसहित शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिवंश कार्कीलाई पक्राउ गरेको छ ।
अवैधरुपमा सुन ओसारपोसार गर्दा थुनामा रहेका भारतीय नागरिक अभिषेक सरकारसँग मुद्दा मिलाइदिने भन्दै मुनलाइट पार्टी प्यालेस धुम्बाराहीमा लेनदेन गर्दै गर्दा अख्तियारबाट खटिएको टोलीले कार्कीसहित भन्सार एजेन्ट प्रेम अधिकारी (खोटाङ), देवराज भट्टराई र सवारी चालक पुरुषोत्तम थापालाई पक्राउ गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार कार्कीले प्रयोग गरेको भन्सार कार्यालयको बा ६ च ७८७४ नम्बर स्कारपियो जिप र भन्सार एजेन्टले प्रयोग गरेको बा १० च ४० ७५ नम्बरको आइटेन गाडीसहित चवारी चालक पुरुषाेत्तम थापासमेतलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । नागरिक दैनिकमा खबर छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको घिमिरेले बताए ।