कोइराला र ओलीका कारण संविधान नबन्ने खतराः दाहाल

कात्तिक २०,  इटहरी – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई दिनयता प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको चलखेलले संविधान निर्माणलाई अनिश्चिततातर्फ धकेलेको आरोप लगाएका छन् ।

इटहरी नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाटमा  दाहालले विगतमा भएको जातीय, क्षेत्रीय लगायतका सम्झौता कांग्रेस एमालेका नेताहरुले नमानेको कारण संविधान निर्माण प्रक्रिया अवरुद्ध हुने खतरा बढेको बताए ।

दाहालले हिन्दू राष्ट्र कायम गराउन लागेका कांग्रेस नेता खुमबहादुर खड्काको लाइनबाट कांग्रेस एमालेले ७ प्रदेशको प्रस्ताव ल्याएको उल्लेख गरे । कांग्रेस, एमालेले प्रस्ताव फिर्ता नलिए,  पुराना सहमतिहरु कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त नगरे निर्णायक आन्दोलन हुने उनले बताए ।

आफूहरु आन्दोलन भन्दा सहमतीको पक्षमा भए पनि कांग्रेस र एमालेमा गणतन्त्रविरोधी नेताहरु नेतृत्वमा हावी भएकाले समयमा संविधान नल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए ।  उनले कोइराला सरकारले राजनीतिक र संवैधानिक आधार गुमाएकाले सिंहदरबार खाली गर्नु पर्ने धारणा राखे । कान्तिपुर दैनिकमा खबर छ ।

आफूहरु अझै शान्ति सम्झौता र पुराना सहमतिमा अडिक रहेकाले आफूहरुलाई नै सरकारमा जाने वैधानिक अधिकार रहेको उनको भनाई थियो । दाहालले आफूहरु जनताको बलमा सिंहदरबारभित्र छिर्ने भएकाले संयुक्त राष्ट्रसंघसहितका अन्तराष्ट्रिय शक्तिहरुले आफूहरुलाई नै वैधता दिनुपर्ने जिकिर गरे ।