पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै पर्यटक। तस्बिर सन्तोष पोखरेल

पोखरा-पोखरामा डेढ दर्जन प्याराग्लाइडिङ कम्पनी थपिने भएका छन्। प्याराग्लाइडिङ गर्ने पर्यटक बढ्दै गएपछि व्यवसायीले हवाई खेलकुद क्षेत्रमा लगानी बढाएका हुन्। पोखरामा अहिले २० वटा यस्ता कम्पनी सञ्चालनमा छन्। नयाँ थपिएपछि तीन दर्जन नाघ्ने छ। पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार १८ वटा नयाँ कम्पनीको लाइसेन्स प्रक्रिया अघि बढेको छ।

तीबाहेक अरु केही कम्पनी ‘पाइपलाइन’मा रहेको उनले बताए। ‘१८ वटा कम्पनीको लाइसेन्स प्रक्रिया अघि बढिसकेको छ,’ आचार्यले नागरिकसँग भने, ‘पाइपलाइन’मा रहेका अन्य कम्पनीबारे अध्ययन भइरहेको छ।’

गत भदौ १२ गतेभित्र प्याराग्लाइडिङ उडानका लागि अनुमति पाउने कम्पनीले स्वीकृति पाउने सम्भावना रहेको उनले बताए। त्यस अवधिभित्र आवेदन दिएका कम्पनीबारे भने उनले खुलाएनन्। ‘अनुमति माग्ने धेरै छन्। तर सम्भाव्यता हेरेर दिने हो। प्रक्रिया पुर्याभएका छन्, छैनन् त्यो पनि हेर्नुपर्योा,’ उनले भने, ‘अहिलेसम्म १८ वटाको लगभग टुंगो लागेको छ। मूल्यांकनबाट पास भए अझै थपिने छन्।’

अनुमति पाउन लागेका कम्पनीले केही महिनाभित्रै उडान गर्न सक्ने गरी स्वीकृति दिने उनले बताए। अहिलेसम्म प्याराग्लाइडिङ गराइरहेको सराङकोटको आकाशबाहेक अन्य क्षेत्रलाई आधार मानेर उडान गर्न तयार भए कम्पनी बढ्न सक्ने आचार्यले बताए। ‘सराङकोटमा भीड बढेकोले अब त्यहाँबाट उड्ने गरी कम्पनी थपिँदैनन्,’ उनले भने, ‘अब अनुमति पाउने सबै कम्पनी सराङकोटबाहिर उड्नुपर्छ।’

मन्त्रालयले सराङकोटनजिकैको तोरीपानी र मान्द्रेढुंगाबाट उडान गर्नका लागि नयाँ कम्पनीलाई स्वीकृति दिने तयारी गरेको छ। सराङकोटबाट १५ मिनेट दुरीमा तोरीपानी र त्यहाँबाट थप १५ मिनेट दुरीमा मान्द्रेढुंगा पर्छ। तोरीपानी र मान्द्रेढुंगाबाट उडान गर्ने कम्पनीले चंखपुर र पामे क्षेत्रमा अवतरण गर्नुपर्नेछ। सराङकोटबाट उडान गरेका प्याराग्लाइडिङले हाल खपौदी क्षेत्रमा अवतरण गरिरहेका छन्। प्याराग्लाइडिङ कम्पनी सञ्चालन गर्दा एक करोड रुपैयाँ चुक्ता पँुजी हुनु पर्छ। उक्त पुँजीबाट चारवटा ग्लाइडर राखेर उडान गर्न सकिने प्रावधान छ। ‘कम्तीमा एक करोड रुपैयाँ पुँजी अनिवार्य छ। त्यो हिसाबले पनि १८ करोड रुपैयाँ लगानी थप हुने निश्चित भएको छ,’ आचार्यले भने, ‘कम्पनी थपिए लगानी पनि यही दरमा बढ्नेछ।’

नेपाल हवाई खेलकुद संस्थाका महासचिव बसन्तराज दवाडीले प्याराग्लाइडिङ क्षेत्रमा लगानी थपिए पनि उडान गर्ने ठाउँ साँघुरो हुँदा समस्या बढ्दै गएको बताए। ‘तोरीपानी र मान्द्रेढुंगा सराङकोटबाट धेरै टाढाका दुरी होइनन्। त्यसैले जहाँबाट उडान गरे पनि पोखराको दृश्यावलोकनका लागि पर्यटकले सराङकोटको आकाश खोज्छन्,’ उनले भने, ‘त्यो बेला भीड बढेर समस्या हुने देखिन्छ।’ एकैपटक धेरै कम्पनी थपिँदा पोखराको आकाश झनै साँघुरो हुने उनले बताए। पोखराभन्दा अलि टाढाको दुरीमा मात्र उडान गर्न दिनुपर्नेमा सराङकोट नजिकै दिँदा समस्या हुनसक्ने उनले बताए। सडकसँग नजिक, भौगोलिक अवस्था र हिमाली दृष्यावलोकनले गर्दा पर्यटकको रोजाइको आकाश सराङकोट हुने दवाडी बताउँछन्।

पोखरामा पर्यटक आगमन नबढेको बेला एकैपटक धेरै कम्पनी थपिँदा पाहुना अभावसमेत हुने उनले बताए। ‘अहिले सिजनका बेलामात्र पर्यटक पर्याप्त भएका हुन्। एकैपटक डेढ दर्जन कम्पनी थपिँदा पाहुना अभाव हुनेछ। यसले अस्वस्थ प्रतिस्पर्धा बढाउने डर छ,’ दवाडीले भने, ‘सरकारी निकायले त्यसबारे ध्यान दिनु पर्नेे हो।’
चिनियाँ पर्यटक वृद्धिसँगै पोखरामा प्याराग्लाइडिङ गर्ने पर्यटक संख्या थपिएको छ। पोखरा आएकामध्ये करिब ९० प्रतिशत चिनियाँले प्याराग्लाइडिङ गर्ने उनको अनुमान छ। सिजनमा बेला महिनामा करिब ४ हजारजनाले पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिन्छन्।

हाल सञ्चालनमा रहेका २० वटा कम्पनीले अफसिजनका बेला पनि प्याराग्लाइडिङ गर्ने पर्यटक आक्लझुक्कल पाइरहेकोमा कम्पनी थपिएपछि अभाव हुने उनले बताए। ‘सरकारले पर्यटकको सम्भावना अध्ययन गरेर मात्र कम्पनी थप्न दिनुपर्ने हो। तर, एकैपटक धेरै कम्पनी थपिँदा समस्या हुन सक्छ,’ उनले भने। कम्पनी थपिँदै गए प्याराग्लाईडिङका पाइलट समेत अभाव हुनसक्ने उनले बताए। अहिले पोखरामा स्वदेशी र विदेशी गरि करिब डेढ सय पाइलट छन्। एकैपटक धेरै कम्पनी थपिँदा पाइलट अभाव हुन सक्ने दवाडीले बताए। अक्टोबरदेखि अप्रिल पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने मुख्य सिजन मानिन्छ। नागरिक दैनिकमा खबर छ ।

पोखरामा करिब २० वर्षअघि प्याराग्लाइडिङ भित्रिएको हो। पोखराका पर्यटन व्यवसायी विरु बमजनले पहिलोपटक प्याराग्लाइडिङलाई भित्र्याएका हुन्। उनीसँगै बेलायतका एडम चार्ल्स हिल पाइलटको रुपमा आएका थिए। सनराइज टे्रकिङ (हालको सनराइज प्याराग्लाइडिङ) कम्पनिमार्फत सुरुमा उडान थालिएको थियो।