संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेस

कात्तिक १८, काठमाडौँ व्यवस्थापिका–संसद्मा  हतियार व्यापार सन्धिमा हस्ताक्षर गरी अनुमोदन गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको  छ । नेपाली काँग्रेसका सभासद् रमेश लेखकले हतियार व्यापार सन्धिमा हस्ताक्षर गरी अनुमोदन गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका हुन् । सांसद लेखकले हातहतियारको अनावश्यक उत्पादन, भण्डारण, ओसारपसारलगायतका कार्यले हतियारको दुरुपयोग हुन गई समाजमा नकारात्मक असर पर्न गएकाले यस्ता हतियारको ओसारपसारलाई नियमन गरी समाजमा पर्ने गम्भीर असरलाई न्यून गर्न नेपाल सरकारले सो सन्धि अनुमोदन गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उनले परम्परागत हातहतियारको व्यापार नियमनका लागि निश्चित मापदण्ड बनाउनु अत्यन्त जरुरी रहेको बताए ।  गैरकानुनी हातहतियारको व्यापार तथा ओसारपसार पूर्णरूपले नियन्त्रण गर्ने उद्देश्य रहेको सो सन्धिमा १२२ देशले हस्ताक्षर र ५४ देशले अनुमोदन गरिसकेको भन्दै सभासद् लेखकले नेपाल १० वर्षे जनयुद्ध समाप्त गरी संविधान निर्माण, शान्ति स्थापना कार्यमा लागिरहेको अवस्थामा यो सन्धिको अनुमोदनले विश्वसामु एउटा उदाहरण प्रस्तुत गर्न सक्षम हुने उल्लेख गरेका थिए ।