मानव शरीरमा नयाँ रक्तनली उत्पादन गर्ने प्रविधि विकास

कात्तिक १९, काठमाडौँ -मानव शरीरमा नयाँ रक्तनली उत्पादन गर्ने प्रविधि (स्ट्रिम सेल बेस्ड थेरापी) को विकास गर्न सकिने नयाँ अनुसन्धानले देखाएको छ ।
अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिनअन्तर्गतका वैज्ञानिक अनुसन्धानकर्ताको समूहले सो प्रविधि विकास गर्न सकिने नयाँ तथ्य सार्वजनिक गरेको हो ।  सो अनुसन्धानको नतिजा बायोटेक्नोलोजीको असोज–कात्तिक (अक्टुबर) महिनामा प्रकाशितसमेत भएको बताइएको छ ।
सो अनुसन्धानको अगुवाइ नेपाली वैज्ञानिक डा. नुतन प्रसाईंले गरेका थिए । उनिसहितको  टोलीले विगत लामो समयसम्म गरेको अनुसन्धानले चिकित्सा विज्ञानका क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको थियो । यो प्रविधिले अन्धोपन तथा अङ्गछेदन हुनबाट रोक्न सकिने वैज्ञानिक डा प्रसार्इंले राससलाई जानकारी दिए ।
अब सो प्रविधिले खुट्टाको खासगरी तल्लो भागमा रगतको प्रवाह बढाउन र अन्धोपनबाट बिरामीलाई बचाउन सहयोग पु¥याउन सकिने विश्वास गरिएको छ । विशेषगरी खुट्टामा हुने रक्तनलीमा बोसो जस्तो पदार्थको सङ्कलनबाट रक्त प्रवाहमा अवरोध आउन सक्छ ।
लामोसमयसम्म अवरोध भएमा मानव शरीरमा सुरुको अवस्थामा खुट्टा निदाउने र आराम गरेको अवस्थामा पनि खुट्टा दुख्ने गर्दछ । अवस्था झन जटिल हुँदै गएमा खुट्टा सुक्दै जाने र अन्त्यमा खुट्टा काट्नुपर्ने अवस्थासमेत सिर्जना हुन्छ ।
साथै जटिल स्वास्थ्य समस्या जस्तै हृदयाघात, पक्षघात हुने सम्भावना पनि तीन गुणा बढी रहन्छ । यस्तो अवस्थालाई अन्त्य गर्न सो प्रविधि कोसेढुङ्गा सावित भएको वैज्ञानिक प्रसाईंले जानकारी दिए । साथै सो प्रविधि ५० वर्षभन्दा माथिका धुम्रपान गर्ने र मधुमेहका समस्या भएकाका लागि महत्वपूर्ण हुने अध्ययनले देखाएको उहाँले जानकारी दिए ।
मानव शरीरमा एन्दोथेलिअलसेल नामक सेलले रक्तनली बनाउने काम गर्छ । युवा अवस्थामा सो सेलले पूर्णरुपमा काम गर्दछ तर उमेर बढ्दै जाँदा शरीरमा हुने अन्य रोगका कारण कोसले आफ्नो नियमित काम गर्न छाड्छ । सो अनुसन्धानले बिरामीकै कोसहरुका सहायताले नयाँ र योग्य रक्तनलीको विकास गर्न सकिने देखाएको छ ।