छायांकन गन्तव्य दमौली

कात्तिक  १८, तनहुँ – चोभार डाँडामा द्वन्द्व अनि रानीवनमा नृत्यको छायांकन। केही समय पहिलेका नेपाली चलचित्रमा दोहोरिइरहने दृश्य हुन् यी। चलचित्रमा प्रतिस्पर्धा र लगानी वृद्धिसँगै पछिल्ला समयमा निर्माता निर्देशकले छायांकनस्थलमा पनि विविधता खोज्न थालेका छन्।
काठमाडौं र आसपासका ठाउँलाई त्याग्दै देशका विभिन्न भागमा पुग्ने क्रम पछिल्लो समय मौलाएको छ। यसरी चलचित्र छायांकनका लागि रोजाइमा पर्ने ठाउँ दमौली पनि हो। पृथ्वी राजमार्गको मध्य भागमा रहेको र पोखराबाट एक घन्टाको दूरीमा रहेको दमौलीमा पछिल्लो समय छायांकन गर्ने चलचित्रको संख्या वृद्धि भएको छ।
६ महिनाको अवधिमा चार चलचित्रको छायांकन भएको दमौलीको रोमाञ्चक दृश्यले चलचित्रकर्मीलाई लोभ्याउन थालेको छ। नरेन्द्र महर्जनको निर्माण ‘फन्को’, केएन घिमिरेको ‘एक्कान दुई कान मैदान’, ऋषि न्यौपानेको ‘झमेला’, सावित्री खत्रीको निर्माण तथा निर्देशन रहेको ‘काफल पाक्यो’का अधिकांश छायांकन तनहुँमा भएका छन्।
 प्रेमकथामा आधारित नेपाली चलचित्र ‘वादशाह’को छायांकन पनि दमौलीमा गरिएको छ। यसअघि प्रदीप श्रेष्ठको निर्देशनको ‘डर’ र झरना थापाको ‘तकदिर’ पनि यहीँ छायांकन गरिएको हो।
पोखरा र देशका अन्य भागमा फैलिएको छायांकन गन्तव्य दमौलीमा किन सर्दैछ त? कलाकारसमेत रहेका उत्तरशीला चलचित्र मन्दिरका प्रबन्धक प्रमोद पाण्डे भन्छन्, ‘यहाँको प्राकृतिक दृश्य अनि स्रोतको सहज उपलब्धताले निर्माता निर्देशकको मन जितेको हुन सक्छ।’
मादी र सेती नदी, व्यास गुफा, समथर मैदान र सानो दमौली बजारले चलचित्र निर्देशकलाई तान्ने गरेको छ। नृत्यका लागि नदीकिनारको लोकेसन उपयुक्त मानिन्छ। यसबाहेक सानो भूमिकाका लागि स्थानीय कलाकार उपलब्ध हुनुले सुनमा सुगन्ध थपेको पाण्डेको तर्क छ।अन्नपुर्ण पोष्टमा नागरिक दैनिकमा खबर छ ।